तिहारका लागि फूलमालाको तयारीमा व्यवसायी

Share News

काठमाडौं । नजिकिँदै गरेको तिहारका लागि गतवर्षको दाँजोमा कम फूलमाला उत्पादन हुने भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार करीब १५ लाख माला बजारमा ल्याउने तयारी  छ, जुन गतवर्षको भन्दा ३ लाख कम हो ।

कोरोना महामारीका कारण पुष्प व्यवसायमा नराम्रो असर परेपछि फूल खेती गर्ने अधिकांश कृषक तरकारी खेतीतर्फ लागेकाले यस वर्ष उत्पादन घट्न पुगेको हो । नेपालमा हरेक वर्षको तिहारमा सयपत्री र मखमली फूलका करीब २२ लाख मालाको खपत हुने गर्दछ । यस वर्ष मागभन्दा ७ लाख माला कम उत्पादन हुन सक्नेसंघले बताएको छ । नेपाल पुष्प व्यवसायी संघका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यस वर्षको तिहारका लागि बजारमा मालाको मागबारे अहिले नै अनुमान नभए पनि माग घट्ने देखिएको छ । ‘बजार नचले पनि लगभग १५ लाख माला खपत हुने अनुमान भएकाले सोही अनुसार तयारीमा लागिपरेका छौं,’ उनले भने । सामान्य अवस्थामा नेपालमा हरेक दिन सयपत्रीका १० हजारदेखि १५ हजार माला विक्री हुने गरेकोमा हाल ३ देखि ५ हजार माला मात्र विक्री हुने गरेको संघको तथ्यांक छ ।

महामारीको चपेटामा परेका उपभोक्ताको क्रय शक्तिमा आएको ह्रासका कारण तिहारमा फूलको माग घट्ने अनुमान गरिएको छ । यस्तो समयमा अत्यावश्यक वस्तु किन्न छोडेर उपभोक्ताले पूmल किन्ने सम्भावना कम भएको पुष्प व्यवसायीहरू बताउँछन् ।

गतवर्षको तिहारमा सयपत्री फूलको माला ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्ममा विक्री भएको थियो । गतवर्षको जति माग भएमा मूल्य बढ्न सक्ने संघले बताएको छ ।

यस्तै कटफ्लावर ग्रोवर समितिका संयोजक सुशील खड्काले उत्पादन केही कम भए पनि तिहारमा फूलको अभाव भने नहुने बताए । उनका अनुसार तिहारमा फूलको अभाव हुन नदिन र भारतीय फूलको आयात प्रतिस्थापन गर्न फूलखेती गर्ने किसानलाई असारमा करीब २५ केजी बीउ वितरण गरिएको थियो ।

संघको तथ्यांक अनुसार कुल ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४३ जिल्लामा फैलिएको छ । यस व्यवसायबाट ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजार मानिसले रोजगारी पाएका छन् ।

यद्यपि लामो समयको बन्दाबन्दीका कारण पुष्प व्यवसायमा आबद्ध ३० प्रतिशत मजदूरले रोजगारी गुमाइसकेको बताइएको छ । संघका अनुसार गतवर्ष नेपालको पुष्प व्यवसायमा रू. २ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।