मूख्य आपूर्ति केन्द्रमै तरकारी तथा फलफूलको आपूर्ति घट्यो

Share News

कात्तिक १२, काठमाडौं । मुलुकमै तरकारी तथा फलफूलको मूख्य आपूर्ति केन्द्रको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजारमा चाडपर्वको समयमा हरियोे तरकारी र फलफूलको आपूर्ति घटेको पाइएको छ ।

बन्दाबन्दी खुलेपछि पनि कालिमाटीमा तरकारीको आपूर्तिमाखासै वृद्धि भएको छैन । बन्दाबन्दी शुरु भएदेखि घटेको आपूर्ति हालसम्म पनि नबढ्नुमा तरकारीको उत्पादन नै घट्नु प्रमुख कारण भएको व्यापारीहरुको भनाइ छ ।

यहाँ बडादसैं अन्तर्गत अष्टमिको दिनदेखि तरकारी र फलफूलको आपूर्ति घटेको पाइएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार देशको विभिन्न भागबाट कालिमाटी बजारमा कात्तिक ८ गते करीब ३०० टन, ९ गते २०० टन, १० गते २०० टन, ११ गते २०० टन र १२ गते दिउँसोसम्म १०० टन मात्र तरकारी र फलफूल भित्रिएको छ ।

सामान्यअवस्थामा दैनिक रुपमा ९०० टनसम्म तरकारी र फलफूल भित्रिने गरेको कालिमाटी बजारमा बन्दाबन्दी शुरु भएदेखि अधिकांस समय ३०० देखि ५०० टन सम्ममात्र तरकारी भित्रिदै आएको थियो ।

समितिकाअनुसार बडादसैंको समयमा मासुको खपत बढ्ने भएकाले हरियो तरकारीको माग घट्ने गर्दछ । यसका साथै दसैंको समयमा व्यापारीहरु समेत चाडपर्व मनाउन उपत्यकाबाहिर जाने भएका कारण हरेक वर्षको दसैंमा तरकारीको आपूर्ति घट्ने गरेको व्यवसायीहरु बताउँछन् ।

यो समय वर्षे तरकारी सकिएर हिउँदे तरकारी लगाउने समय भएकाले तरकारीको उत्पादन पनि घट्ने गर्दछ ।यतिवेला तरकारीको पकेटक्षेत्र मानिने धादिङ, दोलखा, सिन्धुपाल्चोक, सिरहा, सप्तरी, काभ्रे, चितवन, मकवानपुर लगायतका जिल्लामा समेत तरकारीको उत्पादन घटेकाले त्यहाँबाट कालिमाटीमा आउने तरकारीको परिमाण करीब ४० प्रतिशतले घटेको व्यवसायीहरु बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।