काठमाडौं । थोक बजारमा नै आलुको मूल्य १ सय प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गतवर्षको यही अवधिको तुलनामा आलुको मूल्यमा १ सय प्रतिशतसम्म वृद्धि भएको हो ।
गतवर्षहरूको तथ्यांकलाई हेर्ने हो भने यो समयमा आलुको मूल्य यस वर्षको तुलनामा निकै सस्तो थियो । हाल भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो ६८ रुपैयाँ कायम रहेको छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा १ सय प्रतिशतले धेरै हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गतवर्षको कात्तिक १६ गते भारतीय रातो आलुको औसत मूल्य प्रतिकिलो ३४ रुपैयाँ थियो ।
अहिले नेपाली रातो आलुको प्रतिकिलो औसत थोक मूल्य ९१ रुपैयाँ रहेको छ । यो मूल्य गतवर्षको तुलनामा करीब ४५ प्रतिशतले बढी हो । गतवर्षको कात्तिक १६ गते रातो आलुको औसत थोक मूल्य प्रतिकिलो ६३ रुपैयाँ रहेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बजारमा आलुको मागमा वृद्धि नभए पनि बजारमा नयाँ नेपाली आलु आउने समय नभएको हुँदा आलुको मूल्य बढेको बताए ।
उनका अनुसार भारतीय बजारमा समेत आलुको अभाव हुन गई मूल्य बढ्दा त्यसैको प्रभाव नेपाली बजारमा परेको हो । ‘
यो सिजनमा नेपाली बजारमा आलुको मुख्य आपूर्ति हुने स्रोत भारतमा नै मूल्य बढेका कारण यहाँ मूल्य बढेको हो,’ उनले भने । मङ्सिरदेखि पर्याप्त मात्रमा नेपाली आलु बजारमा आएपछि मात्र मूल्य घट्ने उनको भनाइ छ ।
थोक बजारमा नै आलुको मूल्य बढेपछि खुद्रा बजारका व्यापारीहरूले उपभोक्ताहरूसँग मनपरी मूल्य लिएको उपभोक्ताहरूको गुनासो छ । कीर्तिपुर, बल्खु, कलंकीलगायत स्थानका खुद्रा बजारका व्यापारीहरूले प्रतिकिलो ४० रुपैयाँसम्म बढी मूल्य लिएर आलु बेच्ने गरेको पाइएको छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलालीलगायत जिल्लामा करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ । आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९५ हजार १ सय ७३ हेक्टर र आर्थिक वर्ष २०७५/७६ मा करीब १ लाख ९४ हजार हेक्टर जमीनमा आलुखेती गरिएको थियो ।
केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यका अनुसार नेपालमा वार्षिक आलुको कुल माग साढे ३२ लाख मेट्रिक टन छ । यसमध्ये करीब २८ लाख मेट्रिकटन नेपालको आन्तरिक उत्पादन छ भने साढे ४ लाख मेट्रिकटन विभिन्न मुलुकबाट आयात गर्ने गरिन्छ । स्वदेशी उत्पादनबाहेक नेपालमा वार्षिक ६ अर्ब मूल्यबराबरको आयातित आलु उपभोग हुने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।