काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा खरीद गर्ने भएको छ । यसअघि कम्पनीले यो धान पनि मोटा धानकै दरमा प्रतिक्वीन्टल २७ सय ३५ मा खरीद गर्दै आएको थियो ।
बर्दियाको राजापुर र कैलालीको धनगढी डिपोबाट खाद्यले गत बिहीवारदेखि मोटा र मध्यम धान खरीद शुरू गरेको हो । सरकारले यसअघि पहिलोपटक धान रोपाइँअघि नै गत असारमा मध्यम धानको प्रतिक्वीन्टल २८ सय ८५ र मोटा धानको २७ सय ३५ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।
खाद्य कम्पनीको राजापुर डिपोका प्रमुख धर्मराज पन्तका अनुसार मकवानपुर धान पनि मोटा धानकै मूल्यमा खरीद गर्न थालेपछि किसानले यसलाई मध्यम धानको मूल्यमा खरीद गरिनुपर्ने माग राखेका थिए । किसानको उक्त माग सम्बोधन गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर शाखा र सीडीओ कार्यालयको समन्वयमा मकवानपुर धानको मूल्य प्रतिक्वीन्टल २८ सय २० रुपैयाँ तोक्न खाद्य व्यवस्था कम्पनीको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको थियो । कम्पनीले हालसम्म राजापुरमा मोटा र मध्यम गरी १६ सय क्विन्टल धान खरीद गरेको पन्तले जानकारी दिए ।
गत आर्थिक वर्षमा कम्पनीले ३० हजार मेट्रिकटन धान खरीद गर्ने लक्ष्य राखे पनि सोअनुसार खरीद गर्न सकेको थिएन । चालू आर्थिक वर्षमा उसले ६० हजार मेट्रिकटन धान खरीद गर्ने लक्ष्य राखेको छ ।
यस वर्ष खाद्य कम्पनीले राजापुर, धनगढी, टीकापुर, जनकपुर लगायत तराईका ११ ओटा र जुम्लामा एउटा डिपोबाट धान खरीद गर्ने योजना बनाएको छ । अघिल्ला वर्षको तुलनामा कम्पनीले करीब १ महीना अघिदेखि धान खरीद शुरू गरिसकेकाले लक्ष्य अनुसार खरीद गर्न सकिने अपेक्षा गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । पश्चिमका जिल्लाबाट शुरू गरिएकोमा अबको केही दिनमै पूर्वी जिल्लामा समेत खरीद कार्य थालिने जानकारी उनले दिइन् ।
मसिनो धानको समर्थन मूल्य नतोकिँदा किसान असन्तुष्ट
सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेर धान खरीद कार्य शुरू गरेको भए पनि मसिनो धानको समर्थन मूल्य नतोकिएकोमा किसानहरू असन्तुष्ट बनेका छन् । राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले सरकारले मसिनो धानको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मारमा पर्ने गरेको बताए ।
मसिनो धानको समर्थन मूल्य सरकारले नतोकिदिँदा आफूहरूले मोटा धानभन्दा सस्तो मूल्यमा मसिनो धान विक्री गर्नुपरेको उनको भनाइ छ । उनका अनुसार अहिले बर्दियाका किसान मिलवालासँग मसिनो धान प्रतिक्वीन्टल २७ सय रुपैयाँमा बेच्न बाध्य छन् । राजापर धान सुपरजोनमा १६ हजार हेक्टर जमीनमा वर्षे धान र करीब १५ सय हेक्टरमा चैते धान खेती हुने गर्दछ । खाद्य कम्पनीले भने मसिनो धानको उत्पादन कम हुने भएकाले सरकारले त्यसको समर्थन मूल्य नतोकेको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।