कुखुराको मासुको खपत घट्यो दानाको मूल्य बढ्यो

Share News

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर कुखुराको मासुको खपत ५० प्रतिशतले घटेको छ । मासुको खपत घटिरहेका बेला कुखुरालाई खुवाउनका लागि दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ मकै र भटमासको मूल्य बढेको छ । कच्चा पदार्थको मूल्य बढेसँगै नेपाल दाना उद्योग संघले दानाको मूल्य पनि बढाउने तयारी गरेको छ ।

मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले देशभरि नै यति बेला कुखुराको मासुको खपत ५० प्रतिशतले घटेको बताए । उनका अनुसार सामान्य अवस्थामा देशभर दैनिक ५ लाख किलो मासु खपत हुने गरेकोमा हाल यो परिमाण घटेर करीब २ लाख ५० हजार किलोमा मात्र सीमित भएको छ ।

लामो समयको बन्दाबन्दीको प्रभावका कारण उपभोक्ताहरूको आम्दानी घट्नु, शहरबजारका ठूला होटेल, रेस्टुराँ तथा पार्टी प्यालेसहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसक्नुजस्ता कारणहरूले गर्दा बजारमा मासुको खपत घटेको हो । मासुको खपत घटेर किसानहरूले आप्mनो लागत मूल्यसमेत उठाउन नसकिरहेका बेलामा कच्चा पदार्थको मूल्य बढेको भन्दै नेपाल दाना उद्योग संघले मङ्सिर २ गतेदेखि प्रतिकिलो ४ रुपैयाँका दरले मूल्य बढाउने तयारी गरेको संघका उपाध्यक्ष केशवराज थापाले अभियानलाई बताए ।

उनका अनुसार यस वर्ष भारतमा मकै र भटमासको उत्पादन कम भएकाले अभाव हुनगई कच्चा पदार्थको मूल्य बढेकाले दानाको मूल्य बढाउनुपर्ने भएको हो । २ महीना अघिसम्म भटमासको मूल्य प्रतिकिलो ५८ देखि ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो ७० रुपैयाँ पुगेको छ । त्यसैगरी मकैको मूल्य पनि किलोमा ६ रुपैयाँले बढेर प्रतिकिलो २४ रुपैयाँ देखि ३० रुपैयाँ पुगेको छ ।

दाना उद्योगहरूले कुखुराका लागि दाना उत्पादन गर्दा त्यसमा ६० प्रतिशत मकै र २५ प्रतिशत भटमासको प्रयोग गर्छन् । तर, यसमा प्रयोग गरिने मकै र भटमास ठूलो परिमाणमा नेपाल बाहिरबाट नै आयात गरिन्छ । उद्योगीहरूले मकै भारत, बंगलादेश र युक्रेनबाट आयात गर्छन् । ६० प्रतिशत मकै भारतबाट, २० प्रतिशत बंगलादेश र युक्रेनबाट र बाँकी २० प्रतिशत नेपालको आन्तरिक उत्पादनबाट पूर्ति गरिन्छ ।

त्यसैगरी भटमासको पिना अमेरिका र भारतबाट आयात गरिन्छ । यसमध्ये १५ प्रतिशत अमेरिका र बाँकी ८५ प्रतिशत भारतबाट आयात गरिन्छ ।

मासुको खपत घटेपछि बन्दाबन्दीको शुरुआती चरणदेखि नै मारमा परेका कुखुरापालक किसान तथा व्यवसायीहरू दानाको मूल्य बढाउने तयारी भइरहँदा थप समस्यामा पर्ने चिन्ताले त्रस्त छन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्र किसानहरूले आप्mनो लागत मूल्यसमेत उठाउन नसकिरहेका बेला दानाको मूल्य बढाउने तयारी हुनुले किसानहरूमा झनै निराशा छाउने बताउँछन् ।

उनका अनुसार विगत २ वर्षदेखि पोल्ट्री व्यवसायको अवस्थामा सुधार हुन सकेको छैन । यसले गर्दा पटकपटक किसानहरू आफ्नो लागतभन्दा कम मूल्यमै भए पनि कुखुरा बेच्न बाध्य छन् ।

मासुको खपत घटेपछि व्यवसायीहरूले प्रतिकिलो १ सय ८० रुपैयाँ लागत पर्ने जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो १ सय १० रुपैयाँसम्ममा विक्री गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अनुसार हाल काठमाडौंमा कुखुराको तयारी मासु प्रतिकिलो २ सय ६० रुपैयाँ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।