काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएपछि कालीमाटीमा दैनिक ३०० देखि ४०० टन मात्र तरकारी भित्रिने गरेको थियो । गत सोमवारदेखि आपूर्तिमा सुधार भएको छ ।
समितिका अनुसार गत मङ्सिर ८ गते ६००, ९ गते ६५९, १० गते ६००, ११ गते ६००, १२ गते ५००, १३ गते ६३३ टन तरकारी तथा फलफूल भित्रिएको छ । सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टनसम्म तरकारी र फलफूल भित्रिने गरेको समितिको तथ्यांक छ । गत कात्तिक ८ गते कालीमाटीमा जम्मा २ सय ९६ टन तरकारी भित्रिएको थियो ।
विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले तिहारपछि तरकारी तथा फलफूलको आपूर्तिमा सुधार हुँदै गएको बताए । उनका अनुसार तिहारपछि कालीमाटीमा काउली, गोलभेँडा, आलु लगायत तरकारी भित्रिने क्रम बढेको छ ।
बन्दाबन्दीको समयमा काठमाडौं छाडेर बाहिर गएका मानिस तिहार र छठ सकिएलगत्तै काठमाडौं प्रवेश गर्ने दर बढेकाले आफूहरूले पनि तरकारीको आपूर्ति बढाएको व्यवसायीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले तिहारपछि तरकारीको खपत बढेसँगै आपूर्ति पनि बढाइएको बताए । आपूर्ति बढ्नुको अर्को कारण आन्तरिक उत्पादन बढ्नु पनि रहेको उनको भनाइ छ ।
बन्दाबन्दीका कारण लामो समयसम्म होटल, रेष्टुराँ, स्कुल, कलेज तथा होस्टेलहरू बन्द हुँदा तरकारी खपत घटेको थियो । यद्यपि हाल यो अवस्थामा सुधार हुँदै गएको छ ।
घटेन आलुको मूल्य
भारतीय बजारमा आलुको मूल्य बढेपछि कात्तिक पहिलो सातादेखि नेपालमा पनि आलुको मूल्य उकालो लाग्न थालेको थियो । यद्यपि त्यसबेला व्यापारीले स्थानीय आलु बजारमा आउन थालेपछि मूल्य घट्ने बताएकोमा हाल नेपालको आन्तरिक आलु बजारमा आइसक्दा पनि मूल्य खासै घटेको छैन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यतिबेला स्थानीय रातो आलुको थोक मूल्य प्रतिकिलो ८८ रुपैयाँ छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा करीब ९६ प्रतिशत बढी हो । गतवर्षको यही अवधिमा रातो आलुको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो ।
यस्तै अहिले भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा १२९ प्रतिशत धेरै हो । त्यतिबेला भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँ थियो ।
त्यसैगरी अहिले बजारमा सेतो आलुको थोक मूल्य प्रतिकिलो ७२ रुपैयाँ छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा ७५ प्रतिशत धेरै हो । गतवर्षको यही अवधिमा सेतो आलुको थोक मूल्य प्रतिकिलो ४१ रुपैयाँ थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।