खेलमैदान नहुँदा किसानको बारी र विद्यालयकै प्रांगणको भर

Share News

बैतडी । बैतडीका स्थानीय तहमा वडास्तरीय खेलकुद प्रतियोगिताका लागि खेल मैदानको अभाव रहेको छ । स्थानीय तहका अधिकांश वडामा खेलकुद मैदान नहुँदा आयोजकहरूले कृषकले लगाएको बाली भित्र्याउन कुर्नुपर्ने बाध्यता छ । त्यो सम्भव नभए विद्यालयको प्रांगणमै प्रतियोगिता आयोजना गर्नुपर्ने अवस्था छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीयस्तरमा भएका प्रतिभा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरे पनि वडामा खेलकुदका पूर्वाधार अभाव रहँदै आएको छ ।

यस्तै समस्या जिल्लाको पञ्चेश्वर गाउँपालिका १ र २ मा पनि रहेको छ । वडा नं २ कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा वडास्तरीय खेलकुदका लागि २ लाख बजेट विनियोजन गरेको छ । तर वडामा खेलकुद मैदान नहुँदा किसानको खेतबारीमा खेल खेलाउनु परेको छ ।

मकै भित्र्याएर गहुँ छर्न खाली राखिएको बारीमा वडास्तरीय खेल खेलाइएको पञ्चेश्वर–२ का स्थानीय खेलाडी लोकेन्द्र चन्दको भनाइ छ । पञ्चेश्वर गाउँपालिका–२ का अध्यक्ष दशरथ मंगोलाले वडामा खेलकुद फिल्ड निर्माणका लागि जमीनको खोजी गर्ने र आवश्यक बजेट विनियोजनका लागि पहल गरिने बताएका छन् । बैतडीका दशओटै स्थानीय तहले अहिलेसम्म आफ्ना सबै वडामा खेलमैदान नभएको पाइएको छ । खेलकुद गतिविधि सञ्चालनका लागि सबै स्थानीय तहले विद्यालयकै प्रांगण र किसानको बारी प्रयोग गर्ने गरिएको बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।