गार्मेन्ट उद्योग अझै समस्यामा

Share News

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको गार्मेन्ट उद्योगको अवस्था अझैसम्म पनि सुधार हुन सकेको छैन । महामारीको प्रभावका कारण गार्मेन्ट उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ भने निर्यातमा देखिएका समस्याहरूमा पनि कुनै सुधारका संकेतहरू देखापरेका छैनन् ।

यसअघि महामारीको प्रभाव कम गर्न सरकारले अन्तरराष्ट्रिय उडानहरूमा प्रतिबन्ध लगाउँदा गार्मेन्ट उद्योगी तथा व्यवसायीहरूले करीब ४ गुना बढी भाडा तिरेरै भए पनि सामानहरू निर्यात गरिरहेका थिए । हालसम्म पनि यो अवस्थामा कुनै सुधार नभएकाले आफूहरू निकै मारमा परिरहेको उद्यमीहरू बताउँछन् ।

भदौ, असोजमा जाडो मौसमका लागि महँगो भाडादरमा कपडा निर्यात गरेका व्यवसायीहरू गर्मीका लागि कपडा पठाउँदा भाडादर घट्ने आशामा थिए । तर, समस्या अहिलेसम्म जस्ताको तस्तै छ । गार्मेन्ट उद्योगहरूले यतिबेला गर्मी मौसमका लागि चाहिने कपडा उत्पादन गरेर निर्यात गर्दै छन् ।

गार्मेन्ट एशोसिएशन अफ नेपालका महासचिव अशोक अग्रवालले महँगो भाडादरका कारण उद्यमीहरूले निर्यातमा निकै समस्या भोग्नु परेको बताए । सामान्य अवस्थामा निर्यातकर्ता व्यवसायीहरूले भारतको कोलकाता बन्दगाह हुँदै समुद्री मार्गबाट गार्मेन्ट उत्पादनहरू विदेशतिर निर्यात गर्ने गदर्थे ।

तर, कोरोना महामारीका कारण सीमानाकामा गरिएको कडाइ लामो समयदेखि यथावत् छ । जसले गर्दा समुद्री मार्गमार्फत सामान पठाउन सकिएको छैन ।

आयातका लागि नाकामा कडाइ नभए पनि निर्यातका लागि भने कडाइ नै रहेको व्यवसायीहरू बताउँछन् ।

त्यसैले आजभोलि व्यवसायीहरू कुरियरबाट सामान निर्यात गर्न बाध्य छन् । ‘यसअघिको भाडादरमा कुनै परिवर्तन पनि भएको छैन र समुद्री मार्ग पनि खुल्न सकेको छैन यस्तो अवस्था व्यवसायीहरूले कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन,’ महासचिव अग्रवालले भने ।

समुद्री मार्गमार्फत सामान निर्यात गर्न समस्या हुँदा वैकल्पिक मार्गका रूपमा दुबई र हङकङको बाटो हुँदै हवाई मार्गबाट सामान निर्यात गर्ने क्रम बढेको छ । निर्यातकर्ता व्यवसायीहरूका अनुसार सामान्य अवस्थामा यूरोपका सबैजसो देशहरूमा प्रतिकिलो सामानको भाडादर २ डलर पर्ने गरे पनि कुरियरमार्फत पठाउँदा ८ डलरसम्म पर्छ ।

नेपालमा उत्पादित गार्मेन्टका सामग्रीहरू जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वे आदि यूरोपेली देशहरू र अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गर्छ । नेपाली गार्मेन्टको मुख्य बजारचाहिँ यूरोप नै हो । जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान खपत हुने गर्छ ।

सरकारले दिल्लीका लागि उडान खोलेको भए पनि आफूहरूलाई सामान निर्यात गर्न सजिलो हुने अग्रवालको बुझाइ छ । यसो हुँदा व्यवसायीहरूले जहाजमार्पmत दिल्लीसम्म सामान लैजाने र त्यसपछि समुद्री मार्ग प्रयोग गर्न सकिने उनी बताउँछन् ।

गार्मेन्ट एशोसिएशन अफ नेपालको तथ्यांकअनुसार सामान्य अवस्थाको भन्दा यतिबेला मागमा करीब ४० प्रतिशतले कमी आएको पाइएको छ । त्यसैगरी उत्पादनको क्षमता पनि ७० प्रतिशतले घटेको बताइएको छ । हाल देशभर ५० ओटा गार्मेन्ट उद्योग सञ्चालनमा छन् भने त्यसमा ८ हजार व्यक्तिले रोजगारी पाएको एशोसिएशनको तथ्यांक छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।