खाद्यान्नमा लगातार मूल्य वृद्धि

Share News

काठमाडौं । पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूचीअनुसार दाल, गेडागुडी र खाने तेलको मूल्य लगातार रूपमा बढ्दै गएको पाइएको छ । कात्तिक दोस्रो सातासम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले ३३ प्रतिशतले वृद्धि भई १ सय ६० रुपैयाँ पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ पर्ने मसुरोको दाल यति बेला १४ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ ।

ठूलो मसुरो दालको मूल्य पनि प्रतिकिलो १ सय १५ बाट १ सय २५ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने मासको दाल अहिले बजारमा १ सय ७० रुपैयाँसम्म पर्न थालेको छ । भटमासको तेलको मूल्य २० प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ५० बाट १ सय ८० पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य २० रुपैयाँले वृद्धि भई प्रतिलिटर २ सय ४० सम्म पर्न थालेको छ । अमृत तेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई १ सय ८० बाट २ सय १० पुगेको छ । सनप्mलावर तेलको मूल्य प्रतिलिटर १ सय ७५ बाट १ सय ९५ सम्म पर्न थालेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले मूल्य बढ्नुको कारणका बारेमा खुद्रा व्यापारीहरू नै अनभिज्ञ रहेको बताए । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको नाममा थोक व्यापारी र उद्योगीहरूले खाद्यान्नको मूल्य बढाए पनि खुद्रा सामान किन्ने बेलामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बिलबीजक नदिएको उनको भनाइ छ ।

सही मूल्यको बिलबीजक नपाउँदा खुद्रा व्यापारीहरूलाई मूल्यमा एकरूपता कायम गर्नसमेत समस्या भएको खुद्रा व्यापारीहरू बताउँछन् । ‘बजारमा खाद्यान्नको अभाव पनि छैन र अत्यधिक मात्रामा विक्री पनि छैन त्यसैले यो मूल्य वृद्धि हुनुपर्ने बेला होइन,’ उनले भने ।

यता थोक व्यापारीहरूको संस्था खाद्य किराना व्यवसायी संघले भने आफूले बिल दिन खोज्दा पनि खुद्रा व्यापारी स्वयंले नै भ्याटको डरले बिल लिन नमान्ने गरेको आरोप लगाएका छन् । अन्तरराष्ट्रिय बजारको मूल्यको प्रभावले नेपालमा लगातार रूपमा खाद्यान्नको भाउ बढेको र कोही पनि थोक व्यापारीहरूले मनोमानी रूपमा मूल्य नलिएको खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले दाबी गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।