रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) सञ्चालनमा आएको छ । रौतहटसहित बारा तथा सर्लाहीका कृषकले मिलमा उखु ल्याउन थालिसकेका छन् ।
अन्य चिनी मिलमा भुक्तानी समस्याका कारण ढिलो गरी सञ्चालनमा आउने भएपछि कृषकले बाबा बैजुनाथ चिनी मिलमा उखु ल्याएका हुन् ।
उखु खरिद गरेको १५ दिनमा नै कृषकले भुक्तानी पाउने व्यवस्था गरेको उद्योग सञ्चालक बैजु बाबराले बताए ।
‘गत वर्षको भुक्तानी समयमै गरिएकाले यस वर्ष पनि कृषकलाई रकम तिर्न समस्या हुँदैन’, बाबराले भने ।
उद्योग समयमै सञ्चालनमा आएको र भुक्तानी समस्या नरहेकाले यस आर्थिक वर्षमा लक्ष्यभन्दा बढी उखु क्रसिङ हुने अपेक्षा गरिएको उनले बताए । यस वर्ष मिलले करिब १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
गत वर्ष करिब ५ लाख क्विन्टल उखु क्रसिङ गरेर बन्द भएको मिलले यस वर्ष दोब्वरभन्दा बढी क्रसिङ गर्ने लक्ष्य लिएको मिल सञ्चालक बबराले जानकारी दिए ।
बाबा बैजुनाथ चिनी मिल दैनिक २५ हजार क्विन्टलसम्म उखु क्रसिङ गर्ने सक्ने क्षमता छ ।
दुई वर्षअघि कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित पिप्रा पोखरियामा स्थापना भएको मिलले पछिल्लो समय उखु क्रसिङ क्षमता बढाउँदै लगेको छ ।
करिब ११ बिघामा रहेको सो मिलमा ५ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । तर, निरन्तर घाटा बेहोर्नु परेको भन्दै गरुडामा रहेको श्रीराम सुगर मिल गत वर्षदेखि नै बन्द छ ।
श्री राम सुगर मिल्स बन्द हुँदा निराश भएका उखु कृषक बाबा बैजुनाथ सुगर मिल्स सञ्चालन आएपछि हर्षित भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।