मल खरीद सम्झौता गर्न कृषि सामग्रीको टोली बंगलादेश जाँदै

Share News

काठमाडौं । जीटुजी प्रक्रियामार्फत बंगलादेशबाट खरीद गर्न लागिएको ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता गर्न कृषि सामग्री कम्पनी लिमिटेडको टोली बंगलादेश जाने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले नेपालले बंगलादेशबाट जीटुजी प्रक्रियामार्फत ल्याउन थालेको मलको सहमति गर्न कृषि सामग्री लिमिटेडको टोली बंगलादेश जान लागेको जानकारी दिए । उनका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न र अन्य आवश्यक छलफलका लागि टोली बंगलादेश जाने भएको हो ।

‘हामी अहिले भिसाको प्रक्रियामा छौं, सकेसम्म मंगलवार वा बुधवार नै हाम्रा प्रतिनिधिहरू बंगालादेश जानेछन्,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नेत्र भण्डारीले भने । उनका अनुसार कृषि सामग्रीका प्रतिनिधिहरू बंगलादेश पुगेका दोस्रो दिनमा नै सम्झौताको काम सकिनेछ र तेस्रो दिन यहाँ कम्पनीले एलसी खोल्नेछ । ग्लोबल टेन्डरमार्पmत छनोट भएको कम्पनीलाई कार्यादेश दिएको करीब २० दिनमा मल बोर्डरमा आइपुग्ने उनले बताए ।

बंगलादेशले यसअघि नै नेपाललाई मल दिने भनेको चटगाउँ बन्दरगाहबाट मल दिनेछ भने मल ढुवानी गर्ने जिम्मा पाएको जेन ट्रेड कम्पनीले नेपालसम्म ढुवानी गर्ने छ ।

यसअघि धान रोपाइँका बेलामा ५० हजार मेट्रिक टन युरिया मलको ठेक्का पाएका २ कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टीपलले निर्धारित समयमा मल आयात नगर्दा सरकारले मलको अभाव टार्न बंगलादेश सरकारसँग गत भदौ १६ गते ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउने सम्झौता गरेको थियो । तर, अन्तिम समयमा बंगलादेशले सापटीमा मल नदिने भएपछि अहिले जीटुजी प्रक्रियामार्पmत खरीद गर्न लागिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिले कृषि सामग्री कम्पनीसँग २२ हजार मेट्रिक टन युरिया र ९ हजार मेट्रिक टन पोटास मौज्दात रहेको छ । साल्ट टेड्रिङसँग १६ हजार मेट्रिक टन डीएपी र १८ हजार मेट्रिक टन युरिया मौज्दात रहेको छ । कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया आयातको क्रममा छ भने २० हजार मेट्रिक टन डीएपी वितरण भइरहेको छ । यस्तै, ५५ हजार मेट्रिक टन डीएपी चीनमा लोडिङको क्रममा रहेको छ ।

शैलुङ इन्टरप्राइजेजले पछिल्लो पटक ठेक्का पाएको २५ हजार मेट्रिक टन मल पनि आयातको प्रक्रियामा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ । उसले कृषिलाई प्रगति विवरणसम्बन्धी सबै कागजात बुझाइरहेको भए पनि भेसलचाहिँ ट्रेकिङमा आउन नसकेको बताइएको छ ।

बंगालादेशबाट ५० हजार मेट्रिक टन युरिया ल्याएपछि त्यसले करीब २ महीनाका लागि हिउँदे मकै र गहुँका लागि माग पूरा गर्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।