माग सम्बोधन नभए अनसन बस्छौं : उखु किसान

Share News

काठमाडौं । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम नपाएको विरोधमा चार दिनदेखि काठमाडौंको माइतीघरमा प्रदर्शनरत उखु किसानहरूले उखु बेचेको पैसा नपाए अनसन बस्ने चेतावनी दिएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार सरकारले गतवर्ष किसानसँग गरेको पाँचबुँदे प्रतिबद्धता पूरा गराउनु पथ्र्यो । तर, सरकार यसमा गम्भीर नभई अर्कै बाटोतिर लागेको उनले बताए ।

उद्योगीलाई पक्राउ गरेर पैसा आउने आशमा आफूहरू नभएको उनको भनाइ छ । ‘अबको एक हप्ताभित्र पनि पैसा पाएनौं भने हामी रिले अनसनमा बस्छौं,’ उनले भने । गतवर्ष पुस १८ गते सरकारको रोहवरमा उद्योगीहरूले किसानसँग पाँचबुँदे सम्झौता गर्दै २०७६ माघ ७ भित्र बक्यौता रहेको सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति गरेका थिए । यसपालि जसरी भए पनि आफ्नो श्रमको पैसा लिएर मात्रै फर्कने सोचमा उनीहरू छन् । उनीहरूको यो प्रदर्शनलाई साथ दिन अन्य जिल्लाबाट समेत किसानहरू काठमाडौं आउने क्रम बढिरहेको छ ।

आइतवार सर्लाहीका उखु किसानहरूले माइतीघरमा प्रदर्शन शुरू गर्दा करीब १ सय जना मात्र सहभागी थिए । प्रदर्शनको चौथो दिन बुधवार नवलपरासी, बारा, पर्सा, रौतहट र सप्तरीका उखु किसानहरू समेत काठमाडौं आइपुगेका छन् । बुधवारसम्म प्रदर्शनकारी किसानको संख्या ५०० पुगेको छ । एक साताभित्रमा १ हजार जना किसान जम्मा गर्ने संघर्ष समितिले बताएको छ । उखु किसानलाई सरकारले वार्तामा बोलाए पनि उनीहरू  चिनी मिलबाट आपूmहरूले पाउनुपर्ने पैसा हातमा नपरेसम्म वार्तामा नबस्ने अडानमा छन् । आफूहरूको मुख्य माग नै बक्यौता रकम भुक्तानी पाउनुपर्ने भएको हुँदा रकम नपाउन्जेल कुनै पनि सम्झौता गर्न नजाने संघर्ष समितिका अध्यक्ष राम स्वायत्त रायले बताए । उखु किसानको प्रदर्शनमा काठमाडौंका स्थानीयले समेत साथ दिइरहेकाले आफूहरूको प्रदर्शनलाई कमजोर नसोच्न र मागहरू चाँडो सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरे ।

आफूहरूको प्रदर्शनलाई कमजोर तुल्याउन चिनी उद्योगी र सरकारमै बसेका मान्छेहरूले आफूहरूमाथि बिचौलियाको गलत आरोप लगाएको बताउँदै उखु किसानहरूले आपत्ति प्रकट गरेका छन् । समितिका सचिव हरिश्याम रायले आपूmले अहिलेसम्म कुनै पनि किसानको एक रुपैयाँ नखाएको र कसैले हिसाब मागेमा आफ्नो सम्पूर्ण सम्पत्तिको हिसाब देखाउन तयार रहेको बताए । आफू बिचौलिया भएको प्रमाणित गरेर देखाउन समेत उनले चुनौती दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।