उखु किसानको प्रदर्शन जारी

Share News

काठमाडौं । भुक्तानीको माग गर्दै उखु किसानले माइतीघरमा प्रदर्शन थालेको ५ दिन पूरा भएको छ । यसबीचमा गृह मन्त्रालयले किसानको बक्यौता रकम नतिर्ने चारओटा चिनी मिलका सञ्चालकलाई प्रक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको पनि २ दिन बितिसकेको छ । तर बिहीवारसम्म उनीहरू कोही पनि प्रक्राउ परेका छैनन् ।

बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरूलाई प्रक्राउ गर्न सांसदहरूले समेत सरकारलाई दबाब दिइरहँदा समेत सरकारले यसमा चासो नदेखाएको आरोप उखु किसानहरूको छ । बिहीवार प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले बक्यौता रकम भुक्तानी नगर्ने उद्यागीलाई तुरुन्तै प्रक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रक्राउका लागि निर्देशन दिएको दुई दिन बितिसक्दा समेत किन प्रक्राउ नगरेको भन्दै सम्बन्धित निकायलाई प्रश्न गरेका छन् । ‘सरकारले प्रक्राउको बहाना गरेर किसानलाई भुलाउन खोजेको हो । प्रक्राउ गरेरै कारबाही गर्ने हो भने यतिका दिनसम्म प्रशासन के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे ।

आइतवारदेखि जारी रहेको प्रदर्शनको पाँचौं दिन बिहीवार माइतीघरमा उखु किसानहरूले हलो जुवा सहित प्रदर्शन गरेका थिए । साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमवार आफूहरूलाई छलफलका लागि बोलाइएको पत्रको जवाफ किसानहरूले प्रदर्शनस्थलमै पढेर सुनाएका थिए ।

उनीहरूको जवाफी पत्रमा उद्योहरूबाट आफूहरूले पाउनुपर्ने रकमको भुक्तानी नपाएसम्म वार्तामा नजाने उल्लेख छ । किसानहरूले प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोषबाट भए पनि बाँकी रहेको बक्यौता रकम भुक्तानी गरी सरकारले नै उद्योगीहरूबाट ब्याजसहित असुल गर्नुपर्ने सुझाएका छन् । परिणाममुखी वार्ता नभएसम्म आपूmहरूको प्रदर्शन जारी रहने उनीहरूले बताएका छन् ।

उखुको पैसा उठाउन आफूहरू धान बेचेर तथा आफन्तसँग ऋण मागेर काठमाडौं आएकाले चाँडोभन्दा चाँडो आपूmहरूको माग सम्बोधन गरिदिन संघर्ष समितिका अध्यक्ष राम स्वायत्त रायले सरकारसँग आग्रह गरेका छन् । ‘दिनभर प्रदर्शन गरेर राति भोकै सुत्नुपर्ने अवस्थामा आफ्नो पसिनाको कमाइ माग्न आएका हामीलाई सरकारले साथ देओस्,’ उनले भने ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।