काठमाडौं । बक्यौता रकम भुक्तानीको माग गर्दै एक सातादेखि माइतीघरमा प्रदर्शनरत उखु किसान र सरकारबीच आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको छ । सरकारसँग वार्ता भए पनि किसानहरूको प्रदर्शन भने जारी रहने भएको छ । सरकारले वार्तामा बस्न पटकपटक आग्रह गरे पनि किसानहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकमको भुक्तानी नभएसम्म वार्तामा नबस्ने अडान लिँदै आएका थिए । आइतवार उखु किसानका समस्या समाधान गर्न कार्यविधि नै बनाएर अघि बढ्न तयार रहेको भन्दै उद्योग मन्त्रालयले पत्र पठाएपछि आफूहरू वार्तामा बस्न तयार भएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले आर्थिक अभियानलाई जानकारी दिए ।
उद्योग मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले किसानले उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको हिसाब मन्त्रालयमा बुझाउन किसानहरूलाई आग्रह गरिएको बताइन् । उनका अनुसार अहिलेसम्म उद्योगिहरूले बुझाएको हिसाब मात्र मन्त्रालयसँग भएको र किसानहरूले हिसाब नबुझाएकाले दुवै पक्षको हिसाब तलमाथि भएको छ ।
‘किसानहरूले ९० करोड भुक्तानी पाउनुपर्ने दाबी गरिरहेका छन् भने उद्योगीहरूले ६५ करोड मात्र भुक्तानी दिन बाँकी रहेको बताइरहेका छन् । त्यसैले अब मन्त्रालय यसबारे कार्यविधि र छानबिन समिति नै बनाएर अघि बढ्नेछ,’ उनले भनिन् । मन्त्रालयले प्रदर्शन स्थगित गर्न भनेको भए पनि आपूmहरू तयार नरहेको समितिले बताएको छ । भुक्तानी नपाएसम्म प्रदर्शन जारी रहने उनीहरूको भनाइ छ ।
यसैबीच, अन्नपूर्ण सुगर मिलले आइतवार एक विज्ञप्ति जारी गर्दै किसानको खातामा दैनिक रू. १ करोड रुपैयाँका दरले भुक्तानी गर्ने बताएको छ । उसले किसानलाई कुल १७ करोड रुपैयाँ तिर्न बाँकी छ ।
यस्तै श्रीराम सुगर मिल रौतहटले पनि उखु किसानको खातामा बक्यौता रकम पठाइएको शुक्रवार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । विभिन्न परिस्थितिका कारण उद्योग अत्यधिक घाटामा गएकाले समयमै उखु किसानको भुक्तानी गर्न नसकेकोमा क्षमा माग्दै कम्पनीले पहिलो चरणमा ५ हजार ३०० किसानको खातामा करीब १६ करोड रुपैयाँ भुक्तानी गरिएको बताएको छ । किसानहरूले भने खातामा रकम जम्मा भए/नभएको बारेमा आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हालसम्म कुनै पनि किसानको खातामा पैसा जम्मा भएको जानकारी आफूहरूलाई प्राप्त नभएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।