काठमाडौं । उत्तरी नाका असहज भएर चीनबाट तयारी लत्ताकपडा आयातमा समस्या भएपछि कपडाको मूल्य बढेको छ । रसुवागढी नाकाबाट सामान आयात गर्न समस्या भएपछि व्यापारीहरूले विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गरिरहेका छन् ।
यसरी सामान आयात गर्दा बन्दाबन्दीभन्दा अघिको भाडादरमा करीब ३ गुनाले वृद्धि भएको छ । यसले गर्दा चीनबाट आयात हुने लत्ताकपडाको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् । जाडो मौसमका लागि प्रयोग हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।
भृकुटी मण्डपमा कपडा व्यापार गर्ने व्यापारी राजन लामाका अनुसार गतवर्ष ३ हजार रुपैयाँसम्म पर्ने ज्याकेटको मूल्य यति बेला ३६ सय रुपैयाँ पर्न थालेको छ । उनी कपडाको मूल्य पनि महँगिएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठका अनुसार यस अघि केरुङ नाकाबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर १८ सयदेखि २ हजार अमेरिकी डलर पर्ने गथ्र्याे । समुद्री मार्गबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर ५ हजारदेखि ६ हजार अमेरिकी डलर तिर्नुपरेको छ । भाडादर नै महँगो परेपछि त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए ।
रसुवागढी नाकाबाट नेपालतर्पm सामन ढुवानी गर्ने गाडीको भाडादर पनि बढेको छ । केरुङदेखि रसुवागढीसम्मको २८ किमी बाटोको भाडादर १५ हजार रुपैयाँ थियो । तर, अहिले उक्त बाटोको भाडादर गाडीवालाहरूले ६० हजार रुपैयाँसम्म लिने गरेका छन् । त्यसको प्रत्यक्ष असर सामानको मूल्यमा परेको छ ।
थोक व्यापारी र आयातकर्ताहरूले यतिवेला जाडोका कपडा बचेर गर्मीका लागि कपडा आयात गर्ने तयारी गरिरहेका छन् । उत्तरी नाकामा अवरोध कायमे रहे त्यसको असर गर्मी मौसमका कपडाका मूल्यसमेत बढ्ने व्यापारीहरूको भनाइ छ ।
एकातिर चीनबाट लत्तापकडा आयात गर्न समस्या छ भने अर्कोतिर कन्टेनरको भाडादर बढेको छ । ठूला व्यापारीहरूले सामान आयात गर्न सकेपछि साना व्यापारीहरू भने समस्यामा परेका छन् । त्यसैले साना व्यवसायी पलायनको सम्भावना बढेको उनीहरूको भनाइ छ । रसुवागढी भन्सारका प्रमुख रामप्रसाद रेग्मीका अनुसार यति बेला तातो पानी नाका ठप्प जस्तै छ भने रसुवागढी नाकाबाट दैनिक ५ गाडीभन्दा बढी सामान अयात हुन सकेको छैन । रसुवागढी नाकामा चिनियाँ पक्षले मान्छेको आवागमन नै ठप्प बनाएकाले समस्या झनै बढेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।