उत्तरी नाका अवरोधले निर्यातकर्ता समस्यामा

Share News

काठमाडौं । लामो समयदेखि उत्तरतर्फका दुई नाका अवरुद्ध हुँदा नेपालबाट चीनतर्पm सामान निर्यात गर्ने निर्यातकर्ताहरू समस्यामा परेका छन् ।

यति बेला तातोपानी नाका ठप्प छ भने रसुवागढी नाकाबाट पनि दैनिक पाँच गाडी सामान मात्र नेपाल भित्रने गरेको छ ।

नाका अवरुद्ध भएपछि व्यापारीहरूले करीब वर्षदिन अघिदेखि खाद्यान्नलगायत वस्तु चीनतर्फ निर्यात गर्न पाएका छैनन् । यद्यपि हस्तकलाका वस्तुहरू भने भारतको बाटो हुँदै महँगो भाडादरमा चीन निर्यात भइरहेको निर्यातकर्ताहरू बताउँछन् ।

एकातिर महँगो भाडादरका कारण निर्यातकर्ताहरू समस्यामा छन् भने अर्कातिर निर्यात हुने वस्तुको उत्पादनमा काम गर्ने करीब ५ हजार कामदारको रोजगारी नै गुमेको छ ।
गतवर्षको असोजमा चीन सरकारले भाषागत समस्या भएको भन्दै नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यान्नलगायत सामानमा चिनियाँ भाषामा नै लेबलिङ र स्टीकर राख्न सुझाव दिएको थियो । त्यस बेलादेखि नै सामान निर्यात गर्न समस्या भएको व्यवसायीको भनाइ छ ।

कोरोना महामारीका कारण नाका ठप्प भएपछि चीनतर्फ निर्यात हुने खाद्यान्नलगायत वस्तु निर्यात हुन नपाएको नेपाल चीन केरुङ व्यापार संघका महासचिव मुकुन्द पौडेलले जानकारी दिए । सरकारको उदासीनताका कारण व्यापारीहरूले दुःख पाएको उनको भनाइ छ ।

चीनले यति बेला नेपाली व्यापारीहरूलाई आवतजावतमा समेत रोक लगाएको छ ।

नाका सुचारु गर्न पहल गरिदिन माग गर्दै व्यापारीहरूले पटकपटक परराष्ट्र मन्त्रालयदेखि चिनियाँ दूतावासलगायत सम्बद्ध सरकारी निकाय र मन्त्रालयहरूमा धाए पनि सरकारी संयन्त्रले खासै पहल नथालेको व्यवसायीको गुनासो छ ।

नाका अवरुद्ध भएपछि वनस्पति घ्यू, छुर्पी, मैदा, बेसार, चाउचाउ, च्यूरालगायत खाद्य वस्तुको निर्यात ठप्प भएको छ । अगरबत्ती, छालाका सामान, उनी गलैंचा र हस्तकलाका सामान भने भारतको बाटो हुँदै महँगो भाडा तिरेर निर्यात भइरहेका छन् ।

भारतको बाटो हुँदै नेपालबाट चीनलगायत अन्य देशमा सामान निर्यात गर्दा निर्यातकर्ताहरूले सामान्य अवस्थाको भन्दा करीब तीनदेखि चार गुनासम्म बढी भाडा तिर्नुपरेको व्यवसायीहरू बताउँछन् । करीब १ वर्षदेखि व्यापार ठप्प हुँदा निर्यातकर्ताहरू निकै समस्यामा परेको चीनमा खाद्यान्न र कस्मेटिक निर्यात गर्दै आएका नवराज स्थापितले बताए । कतिपय निर्यातकर्ताहरूको अन्य व्यापार भएकाले त्यसैबाट जीवनयापन भए पनि अधिकांशको अर्को व्यापार नहुँदा दिनदिनै समस्या बढ्दै गएको उनले सुनाए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।