बैतडीको स्वास्थ्यचौकीमा डेड महीनादेखि अल्ट्रासाउन्ड सेवा बन्द

Share News

पुस १५, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाको कुलाउँ स्वास्थ्य चौकीमा डेड महिनादेखि अल्ट्रासाउन्ड सेवा नहुँदा सेवाग्राही समस्यामा परेका छन् । उक्त सेवा उपलब्ध नहुँदा विशेषगरी गर्भवती महिला टाढाको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । 

अल्ट्रासाउन्ड गर्ने हाइड्रो जेल सकिएकाले सेवा वन्द रहेको कुलाउँ स्वास्थ्य चौकीकी अनमी सरस्वती वडायकले बताइन् । 

तीन घण्टा लगाएर कुलाउँ स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवाका लागि पुगे पनि यत्तिकै फर्किनु परेको पञ्चेश्वर–४ की अमृता चन्दले बताइन् । पञ्चेश्वर गाउँपालिकाको एकमात्र कुलाउँ स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सुविधा रहेको छ । यो सुविधा पनि केवल गर्भवती महिलाको मात्र रहेको छ । 

गाउँपालिकामा ६ वडा रहेका छन् । चार वडाको पाएक पर्ने ठाउँमा कुलाउँ स्वास्थ्य चौकी रहेको छ । चार वडाका गर्भवती महिला कुलाउँ स्वास्थ्य चौकीमै आउँछन् भने दुई वडाका गर्भवती महिलाहरुको लागि शिविर मार्फत सेवा दिइरहेको स्वास्थ्य चौकीले बताएको छ । 

गाउँपालिकाले निःशुल्क स्वास्थ्य चौकीलाई उपलब्ध गराउनु पर्ने हुँदा गाउँपालिका स्वास्थ्य शाखासँग माग फारम भरेर पठाएको र अहिलेसम्म गाउँपालिकाले उपलव्ध नगराएकोे कुलाउँ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सुरेशराम सार्कीले बताए । अहिलेसम्म आर्थिक शाखा प्रमुख नभएकाले स्वास्थ्य शाखालाई पेश्की नदिन सकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रूपेशकुमार शर्मा बरालले बताए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।