शैलुङले मल खरीदको तेस्रो ठेक्का पनि अलपत्र पार्‍यो

Share News

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका लागि २५ हजार मेट्रिक टन युरिया मल खरीद तथा आयातको जिम्मा पाएको कम्पनी शैलुङ इन्टरप्राइजेजले तेस्रोपटकको ठेक्का पनि अलपत्र पारेको छ । यसअघि पनि शैलुङले मल आयातका दुईओटा ठेक्का अलपत्र पारिसकेको छ ।

गत भदौमा २५ हजार मेट्रिकटन र कात्तिकमा ३० हजार मेट्रिक टन गरी यसअघि नै शैलुङले ५५ हजार मेट्रिक टन मल खरीदको ठेक्का अलपत्र पारेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेलका अनुसार तेस्रो ठेक्का सम्झौताको म्याद सकिएको बिहीवार २० दिन कटिसकेको छ । अब त्यसका लागि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

मल आयातमा बदमासी गरिरहेको शैलुङ इन्टरप्राइजेजले दोस्रोपटकको ठेक्कामा मल नल्याएबापत कारबाही गर्न बाटो खुलेको छ । शैलुङमाथि कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेशलाई बुधवार उच्च अदालत पाटनले खारेज गरेपछि कारबाहीका लागि बाटो खुलेको हो ।

समयमै मल आयात नगरेको भन्दै कृषि सामग्री कम्पनीले शैलुङको ४ लाख ६६ हजार २ सय ५० अमेरिकी डलर धरौटी रकम जफत गरेपछि शैलुङले कृषि सामग्रीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा बुधवार पाटन उच्च अदालतका मुख्य न्यायाधीश डा. कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले खारेज गरेको हो । दोस्रोपटक पाएको ३० हजार मेट्रिक टन युरिया खरीदको सम्झौताको म्याद गत कात्तिक २४ गते सकिएको थियो ।

धारौटी रकम जफत भइसकेकाले अन्य कारबाहीका लागि भोलिदेखि नै प्रक्रिया अघि बढाइने कृषि सामग्री कम्पनीका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । सार्वजनिक खरीद ऐनबमोजिम कालो सूचीमा राख्न सिफारिश गरिने पनि उनले बताए । ‘अहिले हामी शैलुङले दोस्रोपटकको ठेक्का अलपत्र पारेको विषयलाई लिएर कारबाही गर्ने प्रक्रियालाई अघि बढाइरहेका छौं । यसको प्रक्रिया सकिएपछि तेस्रो ठेक्का सम्झौता पूरा नगरेको कारबाहीतर्फ अघि बढ्छौं,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।