काठमाडाैं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् ।
उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको तेलको मूल्य बढेको छ । भटमासको तेलको मूल्य ५० प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य १८ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्ने सनफ्लावर तेलको मूल्य २९ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी अमृत तेलको मूल्यमा पनि १७ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ८० रुपैयाँबाट २ सय १० रुपैयाँ पर्न थालेको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै ठूला व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्र बजारमा खाने तेलको मूल्य अझै बढ्न सक्छ । तेलको कारोबार गर्ने ठूला व्यापारी, बिचाैलिया र उद्योगीहरूको मिलेमत्तोमा बजारमा भटमास र सनफ्लावर तेलको कृत्रिम अभाव भइरहेको उनको दाबी छ । ‘यी दुईथरी तेलहरू बजारमा पाउनै मुश्किल छ,’ उनले भने ।
उद्योगी तथा व्यापारीहरूले यति बेला ठूलो परिमाणमा भारतीय बजारमा खानेतेलको निर्यात गरिरहेको बुझिएको छ । त्यसैले पनि नेपाली बजारमा तेलको अभाव हुन गएको बताइएको छ । नेपाली व्यापारीहरूसँग कारोबार गर्दा उधारोमा कारोबार हुने र भारतीय व्यापारीहरूले नगद कारोबार गर्ने भएकाले व्यापारीहरूले भारतीय बजारमा नै निर्यात गर्ने गरेको बताइन्छ ।
निरन्तरको मूल्य वृद्धि र कृत्रिम अभावको सृजना भने अर्कातिर बजारमा मूल्यको एकरूपता नहुँदा सर्वसाधारण उपभोक्त्ताहरू चर्को मारमा परिरहेका छन् । एउटै ब्रान्डको तेलको मूल्य पसलैपिच्छे फरक पर्ने गरेको पाइएको छ । खुद्रा व्यापार संघले प्रतिलिटर २ सय ५० रुपैयाँ पर्ने भनेर जानकारी दिएको धारा तोरीको तेलको मूल्य खुद्रा व्यापारीहरूले नै २ सय ६० सम्ममा विक्री गरिरहेको पाइएको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अनुसार बजार अनुगमन गर्ने सरकारी संयन्त्र नै व्यापारमुखी भएका कारण बजार अस्तव्यस्त बनेको हो । मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार हस्तक्षेप गर्ने सरकारी संयन्त्रले कालोबजारी गर्ने व्यापारीहरूलाई कारबाही गर्नुको साटो त्यस्ता व्यापारीहरूलाई बोलाएर छलफलमात्र गर्ने परिपाटीले बजार अराजकतातिर धकेलिएको बताए ।
बजार मूल्यमा एकरूपता छैन, बजारमा कालाबजारी र अनियमितता बढिरहेको छ भन्ने जानकारी सरकारी संयन्त्रलाई जानकारी हुँदा हुँदै पनि उनीहरूले चासो नदिएको उनको आरोप छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारमा कालाबजारी गर्ने र मूल्य वृद्धिलाई आश्रय दिने व्यापारीहरूलाई आवश्यक मात्रामा बोलाएर छलफल गर्ने र कारबाही गर्ने काम नियमित रूपमा गर्दै आएका दाबी गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।