पुस २६, बैतडी । शहरी विकास भवन कार्यालय बैतडीले जनता अवासका ७०० भन्दा बढि घर निर्माण गरेका छन् । अझै ४०० ओटा भन्दा बढी घर निर्माणाधिन अवस्थामा रहेका छन् ।
सरकारले गरीब, दलित, विपन्न, लोपोन्मुख र सिमान्तकृत समुदायका लागि अवास निर्माण गर्ने लक्ष्यअनुसार कार्यक्रमले बैतडी, दार्चुला र बझाङ जिल्लामा ७१८ ओटा घर निर्माण गरी स्थानीय जनतालाई हस्तान्तरण गरेको छ भने ४५६ ओटा घर निर्माणाधिन अवस्थामा रहेका छन् ।
आर्थिक वर्ष ७४/७५ देखि शुुरु भएको कार्यक्रमले गत आर्थिक वर्षको अन्तसम्मा उक्त घर निर्माण गरेका हुन् । शुरुमा प्रति परिवारले अवास निर्माण वापत दुई लाख बजेट प्राप्त गरेपनि अहिले निर्माण गरेका परिवारले तीन लाख बजेट प्राप्त गरेका छन् ।
कार्यालयले बैतडीमा ७६६ दार्चुलामा २०० र बझाङमा १९८ गरी जम्मा १ हजार १७४ घरको सम्झौता गरेको थियो । जसमा अहिले आधामात्र निर्माण गरेको छ । कार्यक्रम केन्द्र सरकारको भएपनि यसको हेर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हुँदा अहिले शहरी विकास भवन कार्यालयले हेरिरहेको छ ।
अहिलेसम्म बैतडीमा ५०२ बझाङमा १०८ र दार्चुलामा ११६ घर निर्माण भइसकेका छन् । बाँकी घर निर्माणको अन्तिम चरणमा रहेको शहरी विकास भवन कार्यालयका प्रमुख लाल वहादुर विष्टले बताए । उनले भने ‘माग संख्या बढेकाले अझै प्रदेश सरकारले यसमा बजेट विनियोजन गर्नुपर्छ’ ।
हालसम्म बैतडीमा रू. १९ करोड ३६ लाख २८ हजार ८९३, बझाङमा ५ करोड १६ लाख ७४२, दार्चुलामा रू. ५ करोड २६ लाख १८ हजार २०८ खर्च भइसकेको शहरी विकास भवन कार्यालयका लेखा अधिकृत प्रेम राज अवस्थीले बताए । उनले भने ‘यो रकम जनतालाई भवन निर्माणको लागि किस्ता किस्तामा दिन्छौ’ ।
यो कार्यक्रम स्थानीय तहमार्फत सञ्चालन गरिनु पर्ने स्थानीय तहको माग रहेको छ । आफ्नो स्थानीय तहमा को को सँग घर छैन त्यो कुरा स्थानीय जनप्रतिनिधीलाई मात्र थाहा हुने हुँदा स्थानीय तह मार्फत यो कार्यक्रम सञ्चालन गरिनु पर्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।