सामान आयातमा समस्याले सौन्दर्य व्यवसायी मर्कामा

Share News

काठमाडौं । सौन्दर्य क्षेत्रमा आवश्यक पर्ने सामान आयात गर्न समस्या हुँदा सम्बद्ध व्यवसायी मर्कामा परेका छन् । चीनतर्फको नाकाबाट सहज रूपमा सामान आयात गर्न नसकिएपछि सौन्दर्य व्यवसायी समस्यामा परेका हुन् ।

लामो समयदेखि चिनियाँ नाकामा अवरोध रहँदै आएकाले व्यवसायीले महँगो भाडा तिरेर अन्यत्रबाट सामान आयात गरिरहेका छन् । तर पनि आवश्यक परेको समयमा सामान नआउने समस्या बढेको उनीहरू बताउँछन् । समयमै सामान नआउँदा मूल्य बढ्नुका साथै उपभोक्ता पनि समस्यामा परेको गुनासो सौन्दर्य क्षेत्रमा काम गर्दै आएका व्यापारीको छ ।

सौन्दर्यविद् एवं काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष सुषमा महराले सामान आयातमा ढिलाइले उपभोक्ताले आफूले चाहेको सामान प्रयोग गर्न नपाएको बताइन् । उनका अनुसार नाकामा अवरोधले सामान आयात हुन महीनौं लाग्ने गरेको छ । ‘यसअघि सामान्य अवस्थामा अर्डर गरेको १ महीनामा सामान आइपुग्थ्यो, तर अहिले २ महीनामा पनि आउँदैन,’ उनले भनिन् ।

नाका अवरुद्ध भएपछि व्यवसायीले भारतको बाटो हुँदै सामान आयात गर्न थालेका छन् । यसअघि व्यापारीले केरुङ नाकाबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडा १८ सयदेखि २ हजार डलरसम्म पर्ने गर्दथ्यो । तर अहिले समुद्री मार्गबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडा ५ हजारदेखि ६ हजार डलरसम्म तिर्नुपरेको व्यवसायीले बताएका छन् ।

त्यसैगरी रसुवागढी नाकाबाट नेपालतर्फ आयात गर्ने गाडीको भाडादर पनि बढेको छ । यसअघि केरुङदेखि रसुवागढीसम्म (२८ किमी)को भाडा १५ हजार रुपैयाँ थियो । तर अहिले उक्त बाटोको भाडा ६० हजार रुपैयाँसम्म तिर्नुपरेको महराले बताइन् । यसको प्रत्यक्ष असर सौन्दर्य सामग्रीको मूल्यमा परेको उनको भनाइ छ । उनका अनुसार हाल यस्ता सामग्रीको मूल्य करीब ८० प्रतिशत बढेको छ । भाडा महँगिएकाले व्यवसायीले सामान अर्डर गर्न सक्ने अवस्था समेत नभएको आयातकर्ता गोकर्ण पराजुलीले बताए । नेपालमा सौन्दर्य सामग्री चीन, भारत, जापान, कोरिया, हङकङ, थाइल्याण्ड, पोल्याण्ड लगायत देशबाट आयात हुने गरेको छ ।

नेपालको सौन्दर्य व्यवसायमा २ लाखभन्दा बढी आबद्ध छन् । कोरोना महामारीका कारण तीमध्ये ५० प्रतिशतले यो व्यवसाय छाडेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।