अस्थायी कोभिड अस्पतालमा कोरोना खोप केन्द्र स्थापना

Share News

माघ १९, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको अस्थायी कोभिड-१९ अस्पतालमा कोरोना खोप केन्द्र स्थापना गरिएको छ । कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक खोप केन्द्र सञ्चालनमा ल्याइएको छ । 

अस्थायी कोभिड अस्पताल पुर्चौडीमा हाटमा आइतवार एक कार्यक्रमको आयोजना गरी खोप केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सरकारले कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएकाले दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सहज होस् भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुर्चौडीमा सञ्चालनमा ल्याएको खोप केन्द्रबाट डिलाशैनीका केही वडाका स्वास्थ्यकर्मीहरुलाई समेत खोप लगाउन सहज हुने छ । सो खोप केन्द्रमा ३०० डोज खोप राखिएको छ । स्थापना गरिएको सो केन्द्रवाट पहिलो दिनमा १४० जनाले खोप लगाएका छन् ।

स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाले कोरोना विरुद्धको खोप लगाएका हुन् । सरकारले पहिलो चरणको खोप अभियान ५ दिन थप गरेकाले अझै ५ दिन पहिलो चरणको अभियान सञ्चालन हुनेछ ।

खोप अभियानको पहिलो चरणको ५ दिनमा जिल्लाभरीका ८५६ जना स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन् । पहिलो चरणमा बैतडीमा कोरोना विरुद्धको खोप लगाउनका लागि १ हजार ९६५ जनाको तथ्यांक संकलन गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।