काठमाडौं । सरकारले बंगलादेशबाट जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको ५० हजार मेट्रिकटन (मेटन) युरिया मल आयात हुन अझै २ साता लाग्ने भएको छ । मल किन्ने सबै प्रक्रिया सकिएकाले भोलि बिहीवारदेखि नै मल लोड भएर कोलकाताका लागि हिँड्ने बताइएको छ ।
सरकारी अनुदानको मल किन्ने र आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनीले हालको बजार मूल्यभन्दा प्रतिमेटन करीब १ सय डलर सस्तो मूल्यमा उक्त मल किनेर ल्याउन लागेको हो । प्रतिमेटन २ सय ५९ दशमलव १९ अमेरिकी डलर मूल्य पर्ने छ । बंगलादेशको चटगाउँ बन्दगाहबाट मल ढुवानीका लागि जिम्मा पाएको जेन ट्रेड कम्पनीले नेपालसम्म मल ढुवानी गर्ने छ ।
दुई देशबीच भएको समझदारीअनुसार दाना युरिया बल्क र कार्गो गरी दुई तरीकाले चार लटमा मल आयात गरिनेछ । कुल ५० हजार मे न युरियामध्ये १० हजार मेटन युरिया ब्यागिङ गरिएको ल्याइनेछ भने बाँकी ४० हजार मेटन युरियाचाहिँ बल्कमा दिने भएकाले त्यसलाई जेन ट्रेड कम्पनीले नै ब्यागिङ गरे ल्याउने कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलले जानकारी दिए । ‘अन्य प्रक्रिया सबै सकिइसकेकाले अब बिहीवारदेखि मल लोड तथा ढुवानीको काम शुरू हुनेछ । नेपालसम्म नै आइपुग्नचाहिँ अभैm २ साता जति समय लाग्न सक्छ,’ उनले भने । यसअघि बंगलादेश सरकारले नेपाललाई उक्त परिमाण बराबरको मल सापटीमा दिने भनेको भए पनि अन्तिम समयमा आएर बंगलादेश सरकार उक्त सहमतिबाट पछि हटेपछि नेपालले किनेर भए पनि मल आयात गर्ने प्रक्रिया थालेको थियो । सोहीअनुरूप गएको पुस २ गते मल किन्न नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच सम्झौता भएको थियो ।
हाल कृषि सामग्रीसँग ५ हजार २ सय मेटन युरिया, २१ हजार ५ सय मेटन डीएपी, ७ हजार २ सय मेटन पोटास मौज्दात रहेको छ ।
यसका साथै हालै मात्र कोलकाता बन्दरगाहमा आइपुगेको ३० हजार मेटन युरियामध्ये १० हजार मेटन ढुवानीका क्रममा बाटोमा रहेको र बाँकी २० हजार मेटन पनि ढुवानीका क्रममा रहेको पोखरेलले जानकारी दिए । यति बेला रासायनिक मल प्रशस्त मात्रामा रहेकाले कुनै अभाव हुने सम्भावना नभएको समेत कृषि सामग्रीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।