माघ ३०, रौतहट । रौतहटमा मेची–महाकाली रेल मार्ग निर्माणको काम प्रभावित भएको छ । मुआब्जाको रकम नपाएको भन्दै चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरका जग्गा धनीले रेलवे निर्माणको काम रोकेका हुन् ।
बर्दिबास–निजगढ खण्डस्थित ४ नम्बर प्याकेज अन्तर्गतको निर्माण काममा उनीहरुले अवरोध गरेका छन् । सो खण्डमा निर्माणको प्याकेज लामा गोल्डेन बिरुवा जेभिले पाएको हो । रेलवे विभागको नाममा जग्गा नामसारी भइसकेको भएपनि हालसम्म मुआब्जा नपाएपछि आक्रोशित भएको स्थानिय कृष्ण चौधरीले बताए ।
मालपोतबाट रेलवे विभागको नाममा एक महीना अघि केही जग्गाधनीको जग्गा नामसारी भइसकेको उनले बताए ।
समयमा मुआब्जा नपाएको भन्दै कृषकले उक्त जमीनमा तीन महीना अघि गहुँ, मकै, मसुरो लगायत बाली लगाएका थिए । तर विभागको नाममा नामसारी भइसकेको जमीनमा कृषकले लगाएको बाली भित्र्याउन नपाउँदै काम धमाधम शुरु गरेको छ । उनीहरु जमिनको पूर्जा बोकेर तुरुन्त मुअब्जाको माग गर्दै आन्दोलित भएका छन् ।
रेलवे कर्मचारी र निर्माण कम्पनीको सवारीसाधन रोक्ने तथा निर्माण स्थलको काममा उनीहरुले अवरोध गरेपछि काम नै प्रभावित भएको छ । रेलवे विभागका डिभिजनल इन्जिनियर देवेन्द्र शाहले बजेट अभावका कारण मुआब्जा वितरणमा ढिलाई भएको बताए ।
अबको एक साताभित्र रकम निकासा हुने भन्दै उनले त्यसपछि भुक्तानी प्रक्रिया थाल्ने बताए । आयोजना प्रभावित ८० प्रतिशत स्थानीयको मुआब्जा वितरण भइरहेको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।