प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बैतडीमा ४ हजारभन्दा बढीलाई रोजगारी

Share News

फागुन १, बैतडी । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बैतडीका दश ओटा स्थानियतहका चार हजारभन्दा बढीले रोजगारी पाउने भएका छन् । जिल्लाका १० ओटै स्थानीय तहमा चार हजार २८१ जनाले रोजगारी पाउने भएका छन् । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ जनाले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा ४०० पुर्चौंडी नगरपालिकामा ४५४ पाटन नगरपालिकामा ७६२ जनाले रोजगारी पाउने स्थानिय तहमा रहेको रोजगार केन्द्रले बताएको छ ।

यस्तै, मेलौली नगरपालिकामा २७१ डिलाशैनी गाउँपालिकामा ३३४ दोगडाकेदार गाउँपालिकामा २७० पञ्चेश्वर गाउँपालिकामा ५३८ सिगास गाउँपालिकामा ४५१ र शिवनाथ गाउँपालिकामा ४२३ जनाले रोजगारी पाउने भएका हुन् । रोजगारी पाउने सबैले १०० दिन बराबरको रोजगारी पाउने छन् ।

चालू आर्थिक वर्षमा पारिश्रामिक भनेर मात्र बजेट आएकाले स्थानिय तहले आफैले योजना बनाएर काम गराउनु पर्ने मेलौली नगरपालिकाकी रोजागर संयोजक सरिता वोकटीले बताए । उनले भने ‘मेलौली नगरपालिकामा १ करोड ४० लाख १० हजार ७०० बजेट पारिश्रामिक भनेर आएको छ रकम बराबरकै मान्छे पनि तोकेर आएको छ’ । 

एक जना व्यक्तिले प्रतिदिनको रू. ५१७ रुपैयाँ ज्याला पाउने छन् । सय दिन काम गर्न नसक्नेले काम गरेको अवधिको मात्र पाउने छ बाँकी रकम फिर्ता जाने छ । बचेको रकममा दोस्रोलाई काम गराउन नमिल्ने भएको छ । यसले गर्दा स्थानिय तहले काम र बजेटमा पारदर्शी हुने विश्वास गरिएको छ । 

कोभिड-१९ का कारणले रोजगारी गुमाएर बेरोजगार बनेका युवायुवतीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश गरी कार्यक्रम अगाडी बढाएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलापती भट्टले बताए । 

चालू आर्थिक वर्षमा अनलाईन मार्फत फोरम मार्फत बेरोजगारको डाटा लिएकाले केन्द्रले नै छनौट गरी बेरोजगार सूचीकृत भएको सूची पठाएको थियो । यसले गर्दा आफ्नो भन्दा पनि साच्चिकै बेरोजगार भएका व्यक्ति छनौट भएको नागरिक समाजका अगुवाहरुले बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।