डेढ वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्रले पायो डाक्टर

Share News

फागुन ८, बैतडी । बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले डेढ वर्षपछि चिकित्सक पाएको छ । 

एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भइरहेको थियो । गत वर्ष असोजमा डाक्टरको सरुवा भएपछि प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिस्टेन्टको भरमा चल्दै आएको थियो ।  

मेलौली नगरपालिका भित्र रहेको सो स्वास्थ्य केन्द्रको लागि नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना एमबिबिएस चिकित्सक छनौट गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरायण चन्दले बताए । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सुनिल सिंह पूजारा छनौट भएका हुन् । डाक्टर पुजाराले २०७८ असारसम्मको करार नियुक्त पाएका हुन् ।

नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको मेलौली नगरपालिकाका प्रमुख कृष्ण सिंह नायकले बताए । ‘हामीले नगरपालिकाबाट पनि थप सेवा सुविधा दिने गरेर डाक्टर नियुक्त गरेका छौं । अबका दिनमा प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा सहज हुनेछ’ प्रमुख नायकले भने ।

जिल्लाका मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकालाई तल्लो सोराड भनेर चिनिन्छ । तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलाबेलामा चिकित्सकको अभाव हुने गरेको छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि तल्लो सोराडबासीलाई सजिलो हुने स्थानीय रमेस चन्दले बताए । उनले भने ‘लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएका छन् । अब उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ’ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालन हुनेछन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमाको पनि सूचीकृत संस्था भएकाले डाक्टरको अभावमा बिमीतहरुले सेवा पाउन मुस्कील भएको थियो । अब डाक्टर आएपछि ती सेवाहरु पनि सुचारु हुने मेलौली स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सोराडवासीले शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल बैतडी आउनुपर्ने बाध्यता रहेको थियो । एक दिनको बाटो पर्ने जिल्ला अस्पतालको काम अब केशरपुर स्वास्थ्य केन्द्रमा नै हुनेछ । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले स्थापना भएको करीब १६ वर्षपछि दुई वर्ष पहिला डाक्टर पाएको थियो । नगरपालिकाले पटक पटक डाक्टरका लागि आवेदन आह्वान गरेको भएपनि कसैको निवेदन परेको थिएन । पछिल्लो पटकको आवेदनमा मात्र डाक्टर पाएको मेलौली नगरपालिकाले जानकारी दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।