काठमाडौं । चितवन मिल्क लिमिटेडले आउँदो वैशाखदेखि डेरी ह्वाइटनर उत्पादन गर्ने भएको छ । एक वर्ष अघिदेखि नै उत्पादन गर्ने कम्पनीको योजना भए पनि कोरोना महामारीका कारण पछि धकेलिएको हो ।
डेरी ह्वाइटनर गाईको दुधबाट तरल पदार्थ हटाएर तयार पारिएको दुग्ध उत्पादन विशेष हो । यसमा प्रोटिनको मात्रा कम र पौष्टिक तत्व बढी हुने गर्दछ । यसलाई चिया, कफीमा मिसाएर वा पानीमा मिसाएर दूधकै रूपमा पनि उपभोग तथा मिठाइ बनाउन प्रयोग गर्न सकिन्छ ।
पछिल्लो समय नेपालमा पनि डेरी ह्वाइटनरको माग बढ्दै गएकाले कम्पनीले यसको उत्पादनको योजना अघि सारेको चितवन मिल्क लिमिटेका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । उनका अनुसार हाल नेपालमा वार्षिक करीब १ हजार टन ह्वाइटनरको माग छ ।
डेरी ह्वाइटनरको उत्पादन गर्न थालेपछि कम्पनीको उत्पादन गर्ने क्षमता घट्छ । पाउडर र बटर उत्पादन गर्दा कम्पनीले एक घण्टामा करीब १० हजार लिटर दूध खपत गर्दछ भने ह्वाइटनर बनाउँदा यसको खपत ५० प्रतिशतले घट्ने बताइन्छ । ह्वाइटनरको उत्पादन गर्दा दूध खपत क्षमता घट्ने भएकाले किसानको दूध विक्री घट्न सक्ने अनुमान समेत गरिएको छ ।
यद्यपि कम्पनीले दूधको उत्पादन कम हुने सिजन वैशाखदेखि असोजसम्म मात्र ह्वाइटनर उत्पादन गर्ने र दूधको उत्पादन बढी हुने समय कात्तिकदेखि चैतसम्ममा धूलो तथा बटर नै उत्पादन गर्ने भएकाले दूध उत्पादक किसानलाई मर्का नपर्ने श्रेष्ठको भनाइ छ ।
ह्वाइटनर उत्पादन गर्ने मेशिन र धूलो तथा बटर उत्पादन गर्ने मेशिन एउटै हुने भएकाले गर्दा कम्पनीले त्यसका लागि थप जनशक्तिको व्यवस्था र मेशिन खरीद गर्नुपर्नेछैन ।
बन्दाबन्दीको समयमा चितवन मिल्कले करीब ३० करोड रुपैयाँ बराबरको ५० लाख लिटर दूधको ४०० टन पाउडर र २०० टन बटर उत्पादन गरेको थियो । कम्पनीमा प्रयोग भएका मेशिन तथा प्लान्टहरू स्वचालित भएकाले कामदार कम (३० जना) छन् । नेपालको दुग्ध उत्पादन क्षेत्रमा संलग्न ५ लाख किसानमध्ये करीब ७० प्रतिशतसँग यस कम्पनीले दूध खरीद गर्दछ ।
कम्पनीले चितवन, नवलपरासी, सर्लाही, रौतहट, रूपन्देही लगायत जिल्लाबाट दैनिक ८० हजारदेखि १ लाख लिटरसम्म दुध खरीद गर्दछ । १२ वर्षअघि चितवनको रामनगरमा पौने २ अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगमा हालसम्म ४ अर्ब पुगिसकेको बताइएको छ ।
केही वर्ष अघिसम्म पाकिस्तान र बंगलादेशमा समेत पाउडर दूध निर्यात गर्दै आएको कम्पनीले हाल नेपालमै यसको खपत बढेकाले निर्यात गर्न नसकिएको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।