खडेरीले बैतडीमा गहुँ उत्पादन घट्ने

Share News

बैतडी । खडेरीका कारण बैतडीमा यस वर्ष गहुँबालीको उत्पादन घट्ने भएको छ । जिल्लाका अधिकांश जग्गाजमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

गहुँ छर्ने समयमा हल्का पानी पर्दा जिल्लाका किसानले गहुँ छरेका थिए । गहुँ उम्रिन थालेदेखि हालसम्म पानी नपरेपछि उम्रिएका गहुँ सुकिसकेको किसानले बताएका छन् । गहुँबाली सुकेपछि उनीहरू खाद्य संकट हुने चिन्तामा छन् । गहुँखेती गरिएका खेत अहिले बाँझोजस्तै देखिएका छन् ।

लामो समयदेखि पानी नपर्दा गहुँलगायत हिउँदे बालीको उत्पादनमा ह्रास आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए । ‘खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट हुने खाद्यान्न आयात बढ्छ,’ उनले भने ।

बैतडीमा १७ हजार ५०० हेक्टर जमीनमा गहुँखेती गरिँदै आएको भए पनि ८ हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय गहुँबाली छर्नै नपाएको र छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको स्थानीय किसान रामसिंह मंगोलाले बताए ।

यस वर्ष गहुँबालीको उत्पादन घट्ने देखिएकाले स्थानीय सरकारले खाद्यान्न खरीदमा अनुदान दिनुपर्ने किसानको माग छ । सिँचाइ सुविधा नभएका जिल्लाका विभिन्न ठाउँमा हिउँदे वर्षा नहुँदा गहुँबाली सुकिसकेका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आकलन गरिएको कृषि ज्ञान केन्द्र बैतडीले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।