बैतडी । बैतडीमा निषेधाज्ञाको अवधि थप १५ दिन लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थपको आदेश जारी गरेका हुन् ।
यसअघि वैशाख २० देखि जेठ २ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी थियो । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञा १५ दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
कोरोना महामारीको संक्रमण अझै तीव्र गतिमा फैलिरहेकाले निषेधाज्ञा थप गरिएको उनको भनाइ छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो । निषेधाज्ञाको समय आउजाउमा पूर्णतः रोक लगाइएको छ ।
यसअघि खाद्य पसल, तरकारी पसल बिहान ७ बजेदेखि १० बजेसम्मको समय तोकिएकामा आइतबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी निषेधाज्ञाको समय खाद्य पदार्थको मूल्य बढाए कारबाही हुने आदेशमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई सातामा तीन दिन मात्रै दैनिक दुई घन्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ । विकास निर्माणको हकमा भने सम्बन्धित योजनाको प्रमुखको सिफारिसमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ ।
निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा–सम्मेलन र बैठकमा रोक लगाइएको छ भने विवाह, व्रतबन्धजस्ता कार्यमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख छ । आदेशको उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।