काठमाडौं । रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पुर्याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका छैनन् । प्रयोगशालाका अधिकृत पशु चिकित्सक डा. नव श्रेष्ठले रानिखेतको क्षतिका कारण मात्रै करीब २० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए ।
रोगका कारण देशभरमा के कति क्षति भयो त्यसको यकिन तथ्यांक संकलन नभए पनि लाखौं कखुरा मरेको र त्यसबाट करोडौं रुपैयाँ क्षति भएको हुनसक्ने उनले दाबी गरे । ‘किसानलाई आर्थिक क्षति त छँदै छ त्यस सँगसँगै उनीहरू मानसिक रूपमा समेत कमजोर बनेकाले कखुरा पाल्नै डराइरहेका छन,’ उनले भने ।
केन्द्रीय प्रयोगशालामा मात्र यसअघि दैनिक १५ ओटा जति नमूना परीक्षण गर्दा १० ओटाभन्दा बढीमा रानीखेत रोगको संक्रमण देखिने भए पनि अहिले भने ५ ओटा जतिमा संक्रमण पुष्टि हुने गरेको उनले जानकारी दिए ।
यद्यपि जुन हिसाबले संक्रमण नियन्त्रण हुनु पर्ने हो त्यसअनुसार नभएको उनले बताए । यो रोग भाइरसका माध्यमबाट सर्ने भएकाले किसानले रोग देखिनुअगावै भ्याक्सिन लगाएमा आफै रोग नियन्त्रण हुन्छ । तर, भाइरसले आप्mनो स्वरूप परिवर्तन गरेको हुनाले भ्याक्सिनले पनि प्रभावकारी रूपमा काम नगर्दा समयमै नियन्त्रण गर्न नसकिएको उनी बताउँछन् ।
भ्याक्सिनले प्रभावकारी रूपमा काम नगरेपछि चिकित्सकहरूको सल्लाहबमोजिम अहिले किसानहरूले भ्याक्सिनको मात्रा बढाएका छन् । यसअघि २ मात्रा दिए भ्याक्सिनले काम गर्ने भए पनि अहिले तेस्रो मात्रासमेत दिनु परेको छ । रोगको त्रासका कारण हतोत्साही भएर कुखुरा पाल्ने किसानहरू घटेसँगै समग्रमा कुखुराको उत्पादन पनि करीब ४० प्रतिशतले घटेको बताइएको छ ।
नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रका अनुसार यतिबेला निषेधाज्ञाका कारण मासुको खपत कम हुँदा मात्र खासै समस्या देखिएको छैन, निषेधाज्ञा खुलेसँगै मासुको खपत बढेपछि बजारमा कुखुराको अभाव सृजना हुनेछ ।
उत्पादन घट्नुमा रानीखेत एउटा कारण हो भने अर्को कारण निषेधाज्ञा पनि भएको उनको भनाइ छ । ब्रोइलर कुखुराको हकमा किसानहरू स्थायी हुँदैनन् । हरेक ३ वर्षमा ९० प्रतिशत किसानहरू नयाँ आउने गर्छन् । अहिलेको निषेधाज्ञा र रानीखेतको प्रकोपले गर्दा अधिकांश पुराना किसानसमेत चिन्तित बनेका बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।