काठमाडौं । निर्यात बन्द भएपछि करीब १ अर्ब रुपैयाँको तयारी कपडा नेपालमै मौज्दात रहेको छ । कोरोना महामारीपश्चात् हवाईभाडा र पानिजहाज दुवैतर्पmको भाडादर बढेकाले महँगो भाडादर तिर्न समस्या भएपछि तयारी कपडा उद्योगहरूसँग करीब १ अर्ब रुपैयाँको कपडा मौज्दात रहन गएको हो ।
उद्योगहरूले निषेधाज्ञाअघि नै उत्पादन गरेका हाफपाइन्ट, टीसर्ट, सर्ट, ट्राउजरलगायत सामान अहिलेसम्म गोदाममै मौज्दात रहेका छन् । यतिबेला यूरोपेली मुलुकबाट नेपालमा उत्पादित तयारी कपडाको माग भइरहेको भए पनि हाल माहामारीका कारण भाडादरमा अत्यधिक वृद्धि हुँदा व्यवसायीहरूले आफूले चाहेर पनि सामान निर्यात गर्न नसकेको बताउँदै आएका छन् ।
निर्यातकर्ताहरूले अहिले सामानको निर्यात गर्दा सामान्य अवस्थाको तुलनामा करीब ३ गुनासम्म बढी भाडा तिर्नुपर्ने अवस्थाको सृजना भएको छ । यसअघि हवाई मार्गमार्फत यूरोप र अमेरिकामा सामान निर्यात गर्दा प्रतिकिलो सामानको मूल्य ३ डलर पर्ने गथ्र्याे भने अहिले यो मूल्य बढेर ९ डलरसम्म पुगेको छ । त्यसैगरी पानीजहाजमार्फत निर्यात गर्दा पनि भाडादर उत्तिकै महँगो छ । यसअघि प्रतिकन्टेनर १४ सय डलर रहेको पानिजहाजको भाडा अहिले बढेर २२ सय डलरसम्म पुगेको गारमेन्ट एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।
नेपालमा उत्पादित तयारी कपडाहरू जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेलगायत यूरोपेली देशहरू र अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गर्छ । यद्यपि नेपाली तयारी कपडाको मुख्य बजारचाहिँ यूरोप नै हो । जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान खपत हुने गर्छ ।
गतवर्षको निषेधाज्ञामा पनि सवा १ अर्बभन्दा बढीको सामान गोदाममै थन्किएको थियो । भाडा तिर्न समस्या भएर उत्पादित सामान निर्यात गर्न नसकिएपछि उद्योगहरूले आप्mनो उत्पादन क्षमतालाई समेत घटाएर करीब ३० प्रतिशतमा सीमित गरेको एशोसिएशनका अध्यक्ष अशोक अग्रवालले बताए । उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष मार उद्योगमा काम गर्ने श्रमिक वर्गमा परिरहेको पनि उनले जानकारी दिए । अहिले नेपालमा सञ्चालित ५० उद्योगहरूका करीब १० हजार श्रमिकमध्ये ५० प्रतिशतले रोजगारी गुमाइसकेका छन् ।
‘महँगो भाडा तिरेर सामान निर्यात गर्दा सामानको लागत बढ्न जान्छ अनि हामीले महँगोमा बेच्नुपर्ने हुन्छ हामीले महँगोमा बेच्न खोज्दा विदेशीहरूले हाम्रो सामान नकिनेर अरू देशबाट सामान किन्न थाल्छन्,’ उनले भने । नेपालको तुलनामा समुद्रसँग जोडिएका देशहरूलाई पानीजहाजको भाडादर सस्तो पर्छ । नेपाली व्यवसायीहरूले कोलकातासम्म ट्रक र त्यसपछि पानीजहाजको भाडा तिर्नुपर्दा महँगो पर्न जान्छ । यसले गर्दा नेपाली उत्पादनको लागत अन्य देशको तुलानामा महँगो पर्न जान्छ ।
तयारी कपडाको माग सिजनल हुने गर्छ । त्यसैले अहिले मौज्दातमा रहेका कपडाहरूको सिजन चाँडै सकिने र फेरि अर्को सिजनसम्म होल्ड गर्नुपर्ने हुन्छ । त्यसबाट व्यवसायीहरूलाई लाखौं मूल्यको क्षति हुन जान्छ । निषेधाज्ञाले निर्यात बन्द भएर समस्या झेलिरहेका तयारी कपडा उद्योगहरू हाल निकै संकट पूर्ण अवस्थामा गुज्रिरहेका छन् । त्यसैले नेपालको रोजगारी वृद्धि र निर्यात व्यापारमा समेत ठूलो भूमिका निर्वाह गरिरहेको गार्मेन्ट उद्योगलाई सरकारले सहुलियत पूर्ण ऋण उपल्ध गराई उद्यमी व्यवसायीहरूलाई यस क्षेत्रबाट पलायन हुनबाट बचाउनुपर्ने एशोसिएशनको माग छ । गत आर्थिक वर्षमा ७ अर्ब बराबरको कारोबार भएको यस क्षेत्रमा कोरोना महामारीका कारण चालू आर्थिक वर्षमा भने कारोबार निकै घट्ने देखिएको बताइएको छ ।
१५ वर्षअघि नेपालमा करीब १२ सयओटा तयारी कपडा उद्योग सञ्चालनमा थिए । यिनमा १ लाखभन्दा बढी कामदारले रोजगारी पाएका थिए । हाल केवल ५० ओटा मात्रै तयारी कपडा उद्योग सञ्चालनमा छन् ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्य देशले उत्पादन गर्ने तयारी कपडाभन्दा नेपालमा उत्पादन हुने तयारी कपडाको मूल्य महँगो पर्न जाने भएकाले विदेशी कपडाको तुलनामा यसको विक्री कम भएको व्यवसायीहरू बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।