प्रवासबाट धनकुटाका ५० परिवारलाई खाद्यान्न सहयोग

Share News

असार ३, धनकुटा । धजकुटा नगरपालिका–३ का ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको समूहले खाद्यान्न सहयोग गरेको हो । 

वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रेलया, रामचन्द्र घिमिरे अष्टे«लिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले ५० घरपरिवारलाई चामल, दाल, तेल र नुनलगायतका सामग्री सहयोग गरेका हुन् । वडा नं. ३ का अतिविपन्न परिवारलाई सहयोग गरिएको वडाध्यक्ष घिमिरेले बताए । 

दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्दै आएकालाई निषेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भएको बेला पाएको सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताइन् ।

कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने वडाध्यक्ष घिमिरेले बताए । 

कोरोना संक्रमणको अवस्था दैनिक बढी रहेकाले प्रवासमा रहेर पनि केही  सहयोग गरौं भनेर हालसम्म संकलित रकमले खाद्यान्न खरीद गरी वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले बताए ।

उनले आफूले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुनः सहयोग गरिने जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।