भीमेश्वर नगरपालिकाको बजेट ८८ करोड ५९ लाख

Share News

दोलखा । भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । बिहीवार नगरसभामा नगर उपप्रमुख कमला बस्नेतले ८८ करोड ५९ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

कुल बजेटमध्ये आर्थिक विकासमा ४ करोड ४२ लाख, सामाजिक विकासमा ३५ करोड ७२ लाख, भौतिक पूर्वाधार विकासमा ३७ करोड ९ लाख, सुशासन तथा अन्तरसम्बन्धित विषयमा १ करोड ९८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् ।

कुल बजेटमा आन्तरिक स्रोतबाट २ करोड ७५ लाख राजस्व उठ्ने अनुमान गरिएको छ भने चालू आवबाट जिम्मेवारी सर्ने मौज्दात ७ करोड ३८ लाख रहने नगरपालिकाको अनुमान छ ।  यसैगरी नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १७ करोड ५४ लाख, सशर्त अनुदान ३५ करोड ५२ लाख र समपूरक अनुदान १ करोड १२ लाख आय प्राप्त हुने अनुमान छ । यस्तै बागमती प्रदेश सरकारबाट समानीकरण अनुदानमार्फत १ करोड ५५ लाख, सशर्त अनुदान ५ करोड ८७ लाख र समपूरक अनुदान ३ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँटमार्फत संघीय सरकारबाट ८ करोड ४९ लाख र बागमती प्रदेश सरकारबाट ५ करोड ३६ लाख प्राप्त हुने बजेट बक्तब्यमा अनुमान गरिएको छ । नगरको आगामी आवको बजेटमा बाँझो जग्गा फुटाऊँ, खेती लगाऊँ अभियान, रोकौं विदेश जान, खोलौं आफ्नै कारखाना, एक घर एक धारा, एक वडा एक ज्येष्ठ नागरिक आरोग्य केन्द्र स्थापना जस्ता कार्यक्रम समेटिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।