साउन २५, धनकुटा । धनकुटामा वृहत कफी विकास कार्यक्रम औपचारिक रुपमा थालनी गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँग सहकार्य गरेर पाख्रीबास, भेडेटार, सिधुवा, जोरपाटी, हिले, धनकुटामा कफीको आउटलेट निर्माणको तयारी गरिएको छ ।
जसका लागि आगामी पाँच वर्षे योजना अघि सारिएको छ । पहिलो चरणमा पाख्रीबास नगरपालिका क्षेत्रमा कफी पकेट क्षेत्र घोषणा सहित २०७७ असोजदेखि वृहत कफी नर्सरी थालिएको नगरपालिकाले जानकारी दिएको छ ।
कफी विकास कार्यक्रमको औपचारिक उद्घाटन धनकुटाको पाख्रीबासबाट शुरु गरिएको हो । उक्त योजना अनुसार कफी उत्पादनका लागि ५५ लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिने तयारी गरिएको छ ।
यस्तै, ४५ लाखको लागतमा कफी हाईटेक नर्सरी निर्माण र प्रशोधनका लागि आवश्यक जनशक्ती उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिने नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् । नगरपालिकाका सम्भाबित सबै वडामा कफी खेती तालिम र प्रभावकारी सेवाका लागि कफी संकलन केन्द्र निर्माण गरिने उनको भनाइ छ ।
पाख्रीबासमा मुलुककै नमूना कफी खेतीको रुपमा विस्तार गर्ने योजना अनुसार कार्य अघि सारिएको उनले बताइन् । ‘हामी आगामी वर्षदेखि नै परिणाम दिनेगरी काम अघि बढाएका छौं’, उनले भनिन्, ‘कफीको लागि मुलुककै मोडेल खेती शुरु गरिदैंछ ।’
२०७६ साल फागुनमा कफी सम्बन्धी आधार रेखा थालिएको उक्त स्थानमा हालसम्म पाँच लाख कफी बिरुवा उत्पादन थालिएको छ । यस वर्ष मात्र ५० हजार विरुवा उत्पादन गरी कृषकलाई वितरणको तयारी गरिएको कृषि विज्ञ जीवनकुमार राईले बताए । विज्ञ राईको परिकल्पनामा अघि सारिएको योजना हो ।
पाख्रीबासका ४८ हजार हेक्टर क्षेत्रफलमा कफी खेती गरिने भएको छ । उक्त क्षेत्रफलमा ८४ लाख बिरुवा रोपिने जानकारी दिइएको छ ।
आगामी पाँच वर्षमा २ करोड ४० लाख केजी कफी उत्पादन गरिने योजना अघि बढाइएको छ । जसबाट सरकारी प्रति केजी ८३ रुपैयाँका दरले १ अर्ब ९९ करोड २० लाखको कफी विक्री गर्न सकिने उल्लेख गरिएको छ ।
राईका अनुसार कफी खेतीका लागि नगरको लगानीमा ५ लाख बिरुवा तयारी अवस्थामा रहेका छन् । सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरी आम समुदायमा खफी खेती विस्तार गर्न लागेको नगर आफैंले पनि ५० रोपनीमा नमूना कफी खेतीको कार्यक्रम समेत शुरु गरेको छ ।
धनकुटाका एक स्थानिय तह एक उत्पादनलाई जोड दिने क्रममा पाख्रिबास नगरपालिका धनकुटाले व्यावसायिक कफी खेती शुरु गरेको हो । कफी खेतीको उद्धाटन गर्दै राईले कफी खेतीको बृहत विकासको लागि वडाका सबै १० वडाका जनप्रतिनीधिहरुले समेत कफी खेती गर्न जोड दिए । उनले कफी खेतीको बजारको जिम्मा नगरले लिनु पर्नेमा समेत जोड दिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।