निगमलाई निजीकरण नगरिने : नेवानिले गर्‍यो पर्यटनमन्त्री र सचिवको सम्मान

Share News

काठमाडौं (अस) । नेपाल वायुसेवा निगम (नेवानि) ले पर्यटनमन्त्री प्रेमबहादुर आले र मन्त्रालयका  सचिव महेश्वर न्यौपानेलाई सम्मान गरेको छ । स्वागत अवसरमा मन्त्री आलेले एनएसी क्लब पुनर्स्थापनाको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री आलेले नेवानिसँग कम्पनीसँग पर्याप्त विमान नहुनु विडम्बना भएको बताउँदै विमान थप्न सरकारले सहयोग गर्ने जानकारी दिए । निगमका दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाज संख्या बढाउने र भाडा प्रतिस्पर्धी गरिने उनको भनाइ छ ।

निगमलाई कम्पनीकरण नगरिने मन्त्रीस्तरीय निर्णय भएको बताउँदै उनले राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कर्मचारीको प्रतिबद्धता उडानमा नियमितता र सेवाको गुणस्तरमा वृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिबद्ध भएको परिणामस्वरूप खतराजन्य सामान ढुवानी गर्ने दायित्व पाएको, ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको र अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्री केन्द्र खोली नेपाली घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुर्‍याउन थालेको जानकारी दिए ।

उनले उडानको नियमितता बढेको र यात्रु संख्या सिट क्षमताको ८० प्रतिशतसम्म पुगेको दाबी गरे । नेवानिले मध्यपूर्वको रियादसम्म उडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । समारोहमा वरिष्ठ पाइलट विजय लामा, कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगी, कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर र संगठनका अध्यक्ष राजु श्रेष्ठले निगमले पछिल्लो समय सुधारात्मक कदम चालिरहेको दाबी गरे ।

 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।