काठमाडौं (अस) । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षात्ले पुर्याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो आबको तुुलनामा ८ दशमलव ७४ प्रतिशतले कम हो ।
यसअघि आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५, आव २०७५/७६ मा ५६ लाख १० हजार ११, आव २०७६÷७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।
गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए तापनि बेमौसमी वर्षात्का कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३ दशमलव ४७ मेट्रिकटन कायम भएको छ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
उनका अनुसार बेमौसमी वर्षात्ले गर्दा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके र कपिलवस्तु जिल्लामा अत्यधिक क्षति पुगेका कारण समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । सुदूरपश्चिम प्रदेशको धान उत्पादनमा ३१ दशमल ४९ प्रतिशत र लुम्बिनी प्रदेशको धान उत्पादनमा १८ दशमलव ३८ प्रतिशतको उच्च गिरावट देखिएको छ ।
प्रदेशगत रूपमा धान उत्पादनको आँकडा हेर्नेहो भने गत आवको तुलनामा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूमा धान उत्पादन ऋणात्मक रहन पुगेको पाइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।