जाडो मौसममा उच्च रक्तचापको जोखिम : विज्ञ

Share News

पुस १९, चितवन । जाडो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकले बताएका छन् ।

जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताए । उनले भने, ‘चिसो मौसम शुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।’ यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘मलाई उच्च रक्तचाप छैन भन्नुहुन्छ, तर परीक्षण गर्दा रक्तचाप उच्च देखिएको छ ।’

हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई आफूमा रक्तचाप रहेको थाहा नहुने गरेको उनले अनुभव सुनाए । रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उनले बताए । 

उनले भने, ‘उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो ।’ उनले समय समयमा रक्तचाप परीक्षण गर्न पनि सुझाव दिए । उनले भने ‘म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ ।’

पुष्पाञ्जली अस्पताल प्रालिमा बिहान र बेलुकाको समयमा बिरामी परीक्षण गर्दै आएका डा अधिकारीले आफूकहाँ दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा नै करीब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताए । उनले भने ‘बिरामी धेरैले पहिला कहिल्यै रक्तचाप नदेखिएको र आफूलाई थाहा पनि नभएको बताए ।’

गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नूनको मात्रा बाहिरिने र शरीरमा नून घट्ने बताउँदै उनले जाडो समयमा शरीरमा नूनको मात्रा बढी हुने जानकारी दिए । डा अधिकारीले भने, ‘जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन् । यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछन् ।’ मुटुले पनि आफूसँग आएको रगतलाई पुनः (पम्प) फाल्ने काम गर्छ । यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नली तर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्ने अधिकारीको भनाइ छ । 

जाडो मौसममा मादक पदार्थ, चुरोटलगायतका सूर्तिजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा पनि यो मौसममा रक्तचाप बढ्ने उनले बताए । विश्वको जनसंख्याको करीब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुनथालेको बताउँदै डा अधिकारीले भने, ‘जबकी विश्वमा करीब २५ प्रतिशत जनसंख्या त बच्चा र युवकको छ ।’ विश्वमा तीन प्रकारका उच्चरक्तचापका मानिस रहेको बताउँदै उनले अगाडि थपे, ‘पहिलो–उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो–उच्चरक्तचाप छ, दबाइ खान्छ तर कन्ट्रोल छैन र तेस्रो उच्चरक्तचाप छ, दबाइ खान्छ र कन्ट्रोल पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ ।’

नियमित व्यायाम, दैनिक करीब ३० मिनेटको फटाफट हिँडाइ, नून तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०/८० भन्दा कम राख्ने लक्ष्य राख्न उनले सुझाव दिए ।

चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा शंकर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताउँछन् । उनले हृदयघात (हर्टयाट्याक) र हर्टफेलर हुनसक्ने जोखिम रहेको बताए । उनले भने, ‘उच्च रक्तचापसँगै दिमागको नशा फुट्ने र पक्षघात हुने हुन्छ, त्यसलाई स्ट्रोक भनिन्छ ।’ 

डा लौडारीले अगाडि भने, ‘जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ, (जशसलाई पेरिफेरल भ्यासोकन्स्ट्रीक्सन स्ट्रोक भनिन्छ)’ धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उनले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिए । 

नून, चिल्लो पदार्थ कम गर्न, मदिरा र धूमपान सेवन नगर्न, नियमित व्यायाम गर्न, मधुमेह, कोलस्ट्रोल र उच्च रक्तचापको नियमित परीक्षण गर्न उनले सुझाब दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।