काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ हजार २०० मेट्रिक टनभन्दा बढी धान खरीद गरेको छ । चालू आवका लागि ३० हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य लिएको कम्पनीले हालसम्म २ हजार २०० दशमलव ३८ मेट्रिक टन धान खरीद गरेको हो । धान उत्पादक किसानलाई बिचौलियाको मारमा पर्न नदिन र बजार मूल्य हस्तक्षेप गन सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले मङ्सिरदेखि नै धान खरीद शुरू गरिसकेको छ ।
कम्पनीले देशभरका विभिन्न १२ स्थानबाट धान खरीद गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ८ जिल्लामा मात्र मध्यम धान प्रतिक्वीन्टल २ हजार ९०२ र मोटा धान २ हजार ७५२ रुपैयाँमा खरीद गरिरहेको छ । हालसम्म बिर्तामोडमा ५५ मेट्रिक टन, विराटनगरमा २३९ मेट्रिक टन, लहानमा ५०७ मेट्रिक टन, वीरगञ्जमा ६९५ मेट्रिक टन, नेपालगञ्जमा १०७ मेट्रिक टन, राजापुरमा ५६०, धनगढीमा ५ र महेन्द्रनगरमा ५३ मेट्रिक टन धान खरीद गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उनका अनुसार कम्पनीले धानसँगै सानो परिमाणमा दाल र गेडागुडी पनि खरीद गर्न जिल्लास्थित डिपो तथा खरीद केन्द्रहरूलाई निर्देशन दिएको छ ।
गतवर्ष कम्पनीले ६० हजार मेट्रिक टन धान खरीदको लक्ष्य लिएकोमा अन्तिम समयसम्ममा २७ हजार ७०० मेट्रिक टन मात्रै खरीद गर्न सकेको थियो । यस वर्ष पनि लक्ष्य अनुरूप धान खरीद गर्न सकिने निश्चय नभएको बताइएको छ । कम्पनीमार्फत तोकिएको मापदण्ड अनुरूप धान खरीद गर्नुपर्ने अवस्था र लामो समयसम्म मौज्दात गर्नुपर्ने कारण ठूलो परिमाणमा खरीद गर्न कम्पनीका लागि चुनौती हुने कम्पनीको भनाइ छ ।
कम्पनीले बर्दियाको राजापुरबाट सरकारले समर्थन मूल्य तोकेको भन्दा बाहेकको मकवानपुर धान प्रतिक्वीन्टल २ हजार ८७५ रुपैयाँमा खरीद गरिरहेको बताइएको छ । राजापुर क्षेत्रका किसानले यो धान ठूलो परिमाणमा उत्पादन गर्ने भएकाले कम्पनी आफैले छुट्टै मूल्य निर्धारण गरी खरीद गरिरहेको हो । यस वर्ष कात्तिकमा भएको बेमौसमी वर्षात्का कारण धानबालीको गुणस्तर घटेकाले राम्रो धान बजारमा नआएको विभिन्न जिल्लास्थित खरीद केन्द्रहरूले बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।