१० अर्बको सूचना महामार्ग परियोजना : निर्धारितभन्दा दोब्बर समय बित्यो, काम भने आधा मात्रै 

Share News

पुस २८, काठमाडौं। मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने भन्दै शुरु भएको सूचना महामार्गको काम दोब्बर समय बितिसक्दासम्म आधा पनि सम्पन्न हुन सकेको छैन ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी २ वर्ष भित्र सक्ने गरि अगाडी बढाईएको यो आयोजना ४ वर्ष पुग्दासमेत सम्पन्न नभएको हो । सूचना महामार्गको निर्माण परियोजना तीन ओटा प्याकेजमा अगाडी बढाईएको थियो ।

प्याकेज १ अन्तर्गत प्रदेश नं १, २ र  बाग्मती प्रदेश को काम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गरिरहेको छ । 

२ हजार १७९ किलोमिटर अप्टिकल फाईबर बिछ्याउन दुई वर्षको अवधि पाएको टेलिकमले ठेक्का पाएको चार वर्षसम्म पनि सम्पन्न गर्न सकेको छैन । टेलिकमले हालसम्म जम्मा ४७ प्रतिशत अर्थात् १ हजार २४ किलोमिटर मात्रै अप्टिकल फाईबर बिछ्याएको छ । त्यसमा  २७ ओटा डीडव्लुडीएम प्रणालीको जडान र  ४७ ओटा कोर राउटर जडान गरिएको प्राधिकरणले बताएको छ ।  

प्याकेज २ अन्तरगत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा  यूनाइटेड टेलिकम (यूटिएल) ले दुई वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता गरेकोमा काम नै नगरेपछि मन्त्रीपरिषद्को निर्णयले यूटीएलबाट खोसेर नेपाल टेलिकमलाई नै दिईएको थियो । तर यूटीएलले सो ठेक्का आफूले नै पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा गएको थियो ।

रिट निवेदनको टुङ्गो नलागेसम्म सम्झौता अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले २०७६ वैशाखमै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अर्को निर्णय नआउँदा यो प्याकेजको काम भने शुरु नै हुन नसकेको हो । उक्त काम गर्न भन्दै यूटिएलले प्राधिकरणबाट ४० करोड २० लाख रुपैयाँ अग्रीम भुक्तानी लिइसकेको छ ।

प्याकेज ३ अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको काम स्मार्ट टेलिकमलाई दिईएको थियो । सम्झौता भएको निर्धारित समयसम्म पनि काम शुरु नगरेपछि सम्झौता रद्द गरिएको थियो । सोहि प्याकेज नेपाल टेलिकमलाई दुई वर्षभित्र सम्पन्न गर्ने गरी अर्को सम्झौता गरिएको थियो ।   

सुस्त गतिमा अगाडी बढेको यो प्याकेजको उपकरण आपूर्ति भई केही स्थानमा जडान कार्यसमेत शुरु भएको प्राधिकरणले बताएको छ । दुई वर्षको अवधिमा २८ ओटा डीएमडीडव्लु उपकरण जडान गर्नुपर्नेमा २१ वटा  जडान गरिएको छ । अरु प्रगती भने केहि पनि भएको छैन ।  

सूचना महामार्ग परियोजनाको सम्झौता रकम ९ अर्ब ८९ करोड १७  लाख रुपैयाँमध्ये प्याकेज १ को लागि नेपाल टेलिकमलाई ६१ करोड ५५ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।   

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।