काठमाडौं (अस) । नेपाल–चीन संयुक्त लगानीको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स् नेपालमै सर्वप्रथम आईएसओ ९००१:२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण भएको छ । एयरलाइन्स्लाई स्तरीय व्यवस्थापन प्रणाली आईएसओ ९००१:२०१५ को मापदण्डअनुरूप व्यवस्थित भएकै कारण प्रमाणीकरण गरी गत डिसेम्बर २९, २०२१ मा सम्मानित गरिएको थियो ।
कम्पनीले हवाई यात्रु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायत गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो । यसअघि कम्पनी अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ सेवाबापत आईएसओबाट प्रमाणीकरण भइसकेको छ ।
आईएसओ ९००१:२०१५ विश्वव्यापी रूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट ग्राहक आवश्यकता परिपूर्ति गर्छन् । कम्पनीलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र बेलायतस्थित युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स् र युनाइटेड किंगडम एक्रिडिटेसन सर्भिसद्वारा प्रदान गरिएको हो ।
व्यवस्थापन प्रक्रियाका सूक्ष्म आयाम, मापदण्ड पूरा गर्दै परीक्षणका सबै प्रक्रिया पूरा गरेको र समग्र व्यवस्थापन प्रणाली वैधानिक मापदण्डअनुरूप भएको प्रमाणित गर्दै कम्पनीले प्रमाणीकरण प्राप्त गरेको हो । हिमालय एयरलाइन्स्ले हाल १८० इकोनोमी क्लास सिट भएका तीन एयरबस ३२०–२१४ सिरिज र एक एयरबस ३१९–११५ एअरक्राफ्टबाट सेवा दिँदै आएको छ । कम्पनीले छिट्टै ल्हासालगायत दक्षिण एसियाका अन्य प्रमुख सहरमा सेवा सञ्चालन गर्ने योजना रहेको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।