माघ १८, काठमाडौं । माघ १४ गते शुक्रबार र १६ गते आइतवारको बीचमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन रू. ३ अर्बले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन रू. ३ अर्बले घटेको हो । बैंक तथा वित्तीय संस्थामा शुक्रवारसम्म रू. ४८ खर्ब ७२ अर्ब निक्षेप संकलन भएकोमा आइतवारसम्म घटेर निक्षेप संकलन रू। ४८ खर्ब ६९ अर्बमा झरेको छ । यो बीचमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि रू. २ अर्बले घटेको छ ।
शुक्रवारसम्म वाणिज्य बैंकको निक्षेप संकलन रू. ४३ खर्ब ८ अर्ब थियो । आइतवार घटेर निक्षेप संकलन रू. ४३ खर्ब ६ अर्ब कायम भएको छ । जसको कारणले कर्जा र निक्षेप बीचको अनुपात (सिडि रेसियो) बढेको छ । सिडि रेसियो १४ गतेको तुलनामा शून्य दशमलव शून्य ४ विन्दुले बढको छ ।
माघ १४ गतेसम्म ९० दशमलव २९ प्रतिशत रहेको सिडि रेसियो एकै दिनमा वृद्धि भएर माघ १६ गते ९० दशमलव ३३ प्रतिशत कायम भएको हो ।
यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पनि रू. १ अर्बले घटेको छ । निक्षेपको संकलन घटेपनि कर्जा प्रवाह भने स्थिर देखिएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमार्फत ४६ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
आइतवासम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह रू. ४१ खर्ब ४८ अर्ब रहेको छ । माघ १२ र १३ गतेको बीचमा बैंक तथा वित्तीय संस्थाहरुमा रू. ७ अर्ब निक्षेप थपिएको थियो भने सिडि रेसियो शून्य दशमलव १२ विन्दुले घटेर ९० दशमलव ४८ प्रतिशत पुगेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।