काठमाडौं (अस) । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी बनेको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो ।
टाटा मोटर्स गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा पर्न सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ ।
यो गत वर्षको सोही महिनाको समग्र बिक्री दरको तुलनामा ५४.६ प्रतिशत बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।
प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाका कारण निकै रुचाइएको एसयूभी हो । नेक्सनको बनावट र विशेषता उत्कृष्ट हुनुका साथै यो सब–फोरमिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारमध्येमा पर्छ ।
फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्री भएको छ । यो गत वर्षको सोही महिनाको समग्र बिक्री दरको तुलनामा ९ प्रतिशतले कम हो ।
यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ । टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गरेको छ । पाँचौं स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा कार बिक्री गरेको छ ।
त्यस्तै, गत महिना ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैटौं स्थानमा परेको छ । सर्वाधिक बिक्री हुनेमध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ । कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो ।
आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयूभी–३०० परेको छ । कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयूभी–३०० बिक्री गरेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने १० गाडीको स्थानमा महिन्द्राको एक्सयूभी–७०० परेको छ । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।