फागुन २३, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ २ हजार डलरमाथि उक्लिएको छ ।
रुस–युक्रेन बीचको तनाव चर्किदै गएपछि लगानीकर्ताहरुमा सेफ हेभन एसेटको माग बढेपछि करीब डेढ वर्षमा पहिलो पटक सुनको भाउले सो स्तर पार गरेको हो । आपूर्ति अवरोधको चिन्ताले सोमवार पालाडियमको भाउ पनि कीर्तिमानी उच्च स्तरमा उक्लिएको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारो स्पट गोल्डको भाउ प्रतिऔंस २ हजार ६९ डलरसम्म पुग्यो । यो सन् २०२० को अगष्ट १९ यताकै उच्च स्तर हो । यो सामाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो १२ः२० बजेतिर स्पटको भाउ प्रतिऔंस शून्य दशमलव ३४ प्रतिशतले बढेर १ हजार ९७९ डलर शून्य १ सेन्ट कायम भएको थियो । सोमबार यूएस गोल्ड फ्यूचर्सको भाउ पनि १ दशमलव ३ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ९९२ डलरसम्म पुगेको थियो ।
रुस र युक्रेन बीच युद्ध चलिरहँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले जोखिम कम गर्न ब्याजदर बढायो भने सुनको भाउ झनै बढ्ने बताउँछन्, डेली फरेक्समा मुद्रा रणनीतिज्ञ इल्या स्पाभिक । अहिलेको जोखिम भुराजनीतिक भएकोले सुन लगायत गैर–कागजीय सम्पत्तिको माग बढ्ने उनको दाबी छ । पछिल्लो समय सुनमा आधारित ईटीएफहरुको सुन सञ्चिति पनि बढेको छ ।
स्पट गोल्डको भाउ प्रतिऔंस २ हजार ६५ डलरसम्म निरन्तर बढिरहने रोयटर्सका प्राविधिक विश्लेषक वाङ ताओको भनाइ छ । सोमवार बिहानी कारोबारमा अर्को बहुमूल्य धातु पालाडियमको भाउ प्रतिऔंस ३ हजार १७२ डलर २२ सेन्टसम्म पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । सोमवार चाँदी, प्लाटिनम, तामालगायत अन्य सबै धातुको भाउ बढेका छन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।