काठमाडौं । उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको पोल्ट्री व्यवसायमा बर्डफ्लू रोगको प्रकोप र दानाको मूल्यवृद्धिको असर एकसाथ परेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि समस्यामा रहेको पोल्ट्री व्यवसायमा पछिल्ला दिनमा दुवै असर एकैसाथ देखिएपछि कुखुरा पालक किसान मारमा परेका छन् ।
पशुसेवा विभागका अनुसार हाल काठमाडौंसहित भक्तपुर, सिन्धुपाल्चोक मोरङ, सुनसरी, चितवन, उदयपुर, कास्की, लमजुङ लगायत एक दर्जनभन्दा बढी जिल्लामा बर्डफ्लू रोग फैलिसकेको छ, जसबाट सयौं किसान प्रभावित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले स्थानीय तहमा जनशक्ति अभावले बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण बनेको बताए ।
त्यसैगरी दानाको मूल्य समेत एक वर्षमा प्रतिबोरा १ हजार रुपैयाँका दरले बढेको छ । दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको मूल्य एक वर्षमा प्रतिकिलो ६५ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि किलोमै २५ रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । यी सबैको प्रत्यक्ष असर चल्ला, कुखुराको मासु र अण्डामा परिरहेको छ ।
कोरोना महामारीका कारण समस्या भोग्दै आएका कुखुरापालक किसान अहिले दुईओटा समस्या एकैसाथ आएपछि पलायन हुने सम्भावना बढेको छ । व्यवसायमा आइरहने यस्ता उतारचढावले हरेक वर्ष १० हजार किसान पलायन हुने, तर थौरै संख्यामा मात्र नयाँ किसान थपिने गरेका छन् ।
अहिलेको असहज परिस्थितिले थप किसान पलायन हुन सक्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । उनका अनुसार विगतकै महामारीको प्रभाव र अहिलेकोे समस्याले किसान धेरै हतोत्साहित भएका छन् । किसानहरू आत्तिएर पेशा छाड्न सक्ने खतरा बढेको उनको भनाइ छ । तर के कति किसानको अवस्था असहज भएको भन्ने यकिन तथ्यांक महासंघसँग नभएको उनले बताए । पोल्ट्री व्यवसाय निकै संवेदनशील भएकाले कुनै समस्या आउनेबित्तिकै अधिकांश किसान हतोत्साहित भएर पलायन हुने गरेको उनले बताए ।
विगतदेखिकै समस्याका कारण व्यवसायमा घाटा भइरहेपछि ३४० ओटा ह्याचरी उद्योगमध्ये हालसम्म ७० ओटा बन्द भइसकेको ह्याचरी उद्योग संघले बताएको छ । व्यवसायमा यस्तै उतारचढाव भइरहेमा बन्द हुने ह्याचरी उद्योगको संख्या अझै बढ्ने संघका अध्यक्ष टीकाराम पोखरेलले बताए । उनका अनुसार कुखुरापालक किसान व्यवसायबाट निराश हुँदा चल्लाको माग घटेर हप्तामा २५ लाखमा सीमित भएको छ । यसअघि सामान्य अवस्थामा हप्तामा करीब ४२ लाख चल्लाको माग हुने गरेको संघको तथ्यांक छ ।
कुखुरापालक किसान घटेसँगै ह्याचरी उद्योग समेत बन्द हुन थालेका छन् । तर चल्ला उत्पादन घट्दा बजारमा तयारी मासुको माग बढेको छ । करीब ३ महीना अघिसम्म १८ रुपैयाँमा समेत विक्री नभएको ब्रोइलर चल्लाको मूल्य यतिबेला ८० देखि ९० रुपैयाँ पुगेको छ । मंगलवार ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँ पुगेको छ भने अण्डाको मूल्य समेत बढेर प्रतिगोटा १६ देखि १७ रुपैयाँसम्म पुगेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।