चैत ६, वाशिङ्टन डीसी (अमेरिका) । सन् २०२१ मा विश्वभरका कम्पनी र संघ/ संस्थाहरुले रुसी ह्याकरहरुबाट भएका साइबर हमलापछि ६२ करोड २० लाख मूल्य डलर पर्ने क्रिप्टोकरेन्सीहरु भुक्तानी गरेका छन् ।
अमेरिकी डेटा तथा सफ्टवेयर कम्पनी चेनालिसिस इंकको अध्ययनले यस्तो देखाएको हो । ह्याकरहरुले कम्प्युटरका फाइल र डेटाहरुमाथि साइबर हमला गरेर आफ्नो कब्जामा लिने अनि फिरौती माग्ने यस्ता घटनाहरुमा क्रप्टोकरेन्सी भुक्तानीको आकार बढ्ने र नयाँ उचाई छुने चेनालिसिसले बताएको छ ।
सन् २०१८ देखि फिरौती रकम ह्वात्तै बढेको छ । सन् २०१८ मा ३ करोड ९० लाख डलर रहेको यो रकम सन् २०१९ मा १५ करोड २० लाख डलरमा पुगेको थियो । सन् २०२० मा यो ६९ करोड २० लाख डलरको कीर्तिमानी स्तरमा उक्लियो ।
गत वर्ष भुक्तानी भएको मध्ये १८ करोड डलर रुसले युक्रेनमाथि गरेको हमलाको समर्थन गरिरहेको साइबर अपराधी समहू कोन्टीले पाएको छ । अर्को रुसी अपराधिक ह्याकर समूह डार्क साइडले पनि ठूलो परिमाणमा फिरौतीको रकम पाएको चेनालिसिसको भनाइ छ ।
फिराती मागेर गरिने यस्ता साइबर हमलामा ह्याकरहरुले कम्प्युटर ह्याक गरेर डेटा वा फाइलमा भाइरस छिराएर ती डेटा वा फाइललाई कम्पनीको पहुँच बन्द गरिदिन्छन् अनि पहुँच खुलाउन पैसा माग्ने गर्छन् ।
ट्रेस गर्न नमिल्ने भएकोले साइबर अपराधीहरु क्रिप्टोकरेन्सी माग्ने गरेका छन् । चेनालिसिसले इन्टरनेट बैंक ठेगानाको पहिचान गरेर अनि पैसाको रेकर्ड हेरेर फिरौतीको रकमको हिसाब निकालेको हो । गत वर्र्ष १४० प्रकारका मालवेयर हमलाको पूष्टि भएको छ ।
यसमध्ये २१ ओटा इरानी, १६ ओटा रुसी थिए । ४ ओटा चिनियाँ र २ ओटा भने उत्तर कोरियाको थियो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।