चैत ८, नयाँ दिल्ली (भारत) । भारतमा साढे ४ महीनायता पहिलो पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
सरकारी तेल कम्पनीहरुले मंगलवार प्रतिलिटर पेट्रोल र डिजेलको भाउ ८० पैसा बढाएका छन् । पछिल्लो मूल्य वृद्धिसँगै दिल्लीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपया २१ पैसा कायम भएको छ । डिजेलको भाउ पनि प्रतिलिटर ८६ रुपया ६७ पैसाबाट बढेर ८७ रुपया ४७ पैसा भएको छ । १३७ दिनसम्म मूल्य संशोधन रोक्का गरेपछि मंगलवार भाउ बढाइएको हो ।
उत्तर प्रदेश र पञ्जाब लगायत राज्यहरुमा विधानसभाको चुनावका कारण नोभेम्बर ४ यता पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन रोकिएको थियो । फेब्रअरी २६ मा युक्रेनमाथि रुसले हमला गरेयता अन्तरराष्ट्रि बजारमा कच्चा तेलको भाउ १४ वर्षयताकै उच्च स्तरमा उक्लिएको थियो । भने डलरको तुलनामा भारुको भाउ पनि घटेको थियो ।
तर मूल्य संशोधन रोक्का भएकोले सोको प्रभाव भारतीय जनताहरुमा परेन । सो अवधिमा भारतीय आयल निगमले नेपाल पठाउने पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको थियो । यसको प्रभाव स्वरुप नेपाली बजारमा भने पेट्रोल र डिजेलको भाउ यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएका थिए ।
भारतले कुल मागमध्ये ८५ प्रतिशत तेल सीमापार बजारबाट आयात गरेर पूर्ति गर्ने गरेको छ । मंगलवार एलपीजी सिलिन्डरको मूल्य प्रतिगोटा ५० रुपया बढाइएको छ । यो सन् २०२१ को अक्टोबर ६ यता गरिएको पहिलो मूल्य वृद्धि हो । यही हप्ताको शुरुमा ठूलो परिमाणमा किन्ने क्रेताका लागि डिजेलको भाउ प्रतिलिटर २५ रुपया बढाइएको थियो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।