चैत ९, काठमाडाौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ ।
यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
कम्पनीले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।