माटो र बालीको स्वास्थ्य जाँच्ने एप तयार, २६ किसिमका रोग पनि पहिचान गर्ने

Share News

काठमाडौं । किसानले खेतीपातीको काम गर्दा सामना गर्नुपर्ने समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को प्रयोगबाट पहिचान गरी समाधान गर्ने उद्देश्यले मोबाइल एप विकास गर्ने इन्जिनियर महिला समूहको नेतृत्व गर्दै किसानको साथी बन्ने अभियानमा छिन्– इन्जिनियर लचना हाडा ।

उनको समूहले नेपालमा पहिलोपटक एआईमा आधारित डिभाइस ‘साथी’ नामक मोबाइल एप विकास गरेको छ । उनलाई यो प्रविधि विकास गर्न इम्प्याक्टर्स महिला विकास समाज काठमाडौंका १६ युवा इन्जिनियर महिलाको समूहले साथ दिएको छ । १० महीनाको मेहनतपछि तयार भएको एप आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

साथी एप कम्प्युटर विज्ञान, विशेषगरी मशिन लर्निङ र एआई, इलेक्ट्रिकल इन्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको हो । यसले माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने र परीक्षणको नतीजा पाउन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै जानकारी दिने विश्वास लिइएको हाडा बताउँछिन् ।

उनका अनुसार २६ किसिमका रोग पहिचान गर्ने उक्त डिभाइसले माटोको गुणस्तर पनि थाहा पाउने भएकाले यसले खेतबारीमा कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने जानकारी लिन किसानलाई नै सक्षम बनाउनेछ । यसले बालीनालीको स्वास्थ्य सुपरिवेक्षण गर्न पनि सहयोग गर्ने उनले बताइन् । ‘माटोको समस्या पहिचान भएपछि समयमै उपयुक्त उपचार गर्न पनि यसले सहयोग गर्नेछ,’ उनले भनिन् । 

आफ्नो जमीनको माटो र बालीको रोगबारे जानकारी लिन किसानले व्यक्तिगत रूपमा वा समूह मिलेर डिभाइस किन्नुपर्ने हुन्छ । सोलार सिस्टमबाट चल्ने सो डिभाइसमा रहेको टेस्टर माटोमा गाडेपछि डिभाइसमा रेकर्ड भएको डेटा किसानको मोबाइलमा भएको साथी एपमा आउँछ । त्यसबाट किसानले आफ्नो बालीनालीमा लागेको रोग र माटोको गुणस्तरबारे जानकारी पाउँछन् ।

‘महिला विकास बोर्डले काठमाडौं, सतुंगलका महिला किसानलाई अर्गानिक खेती गर्न सहयोग गर्ने क्रममा त्यहाँको माटोको गुणस्तर बिग्रेको पायो । माटोको गुणस्तर समय अनुसार परिवर्तन भइरहने भएकाले यस्तो खालको प्रविधि आवश्यक रहेको महसूस गरी प्रविधि विकास गर्ने काम अघि बढाइएको हो,’ हाडाले भनिन् ।

अहिलेसम्म सतुंगल र फर्पिङमा उक्त प्रविधिको सफल परीक्षण भइसकेको छ । देशभरका किसानको पहुँचमा यो प्रविधि पुर्‍याउन साना किसान विकास बैंकले सहयोग गर्ने भएको छ । शुरुआती चरणमा बैंकसँग आबद्ध करीब ६० लाख किसानकहाँ यो प्रविधि विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन् । 

अहिले उक्त प्रविधिमार्फत धान, गहुँ, केरा, गोलभेडा, आलु, जुट तथा कफी लगायत २३ किसिमका बालीमा लाग्ने रोग पत्ता लगाइएको छ । यसको व्यावसायिक उत्पादन गरेर नाफा कमाउनेभन्दा पनि कृषि अनुसन्धानका लागि नि:शुल्क बाँडेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग सम्बन्धी वैज्ञानिक अनुसन्धानलाई सघाउने उद्देश्य राखिएको लचना बताउँछिन् ।

जर्मनीबाट कम्प्युटर साइन्समा स्नातकोत्तर सकाएर नेपाल आएकी लचनाले मसिन लर्निङ सम्बन्धी काम गर्दै कृषि लगायत अन्य क्षेत्रमा काम अघि बढाउने लक्ष्य रहेको बताइन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।