खाद्य कम्पनीले धान खरीदको लक्ष्य भेटेन : समर्थन मूल्यको औचित्यमै प्रश्न

Share News

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि लक्ष्यअनुरूप धान किन्न नसकेको पाइएको छ ।

सरकारी कम्पनीले लक्ष्यको आधा पनि धान किन्न नसकेपछि किसान बढी लाभान्वित हुन् भनेर तोक्ने गरिएको समर्थन मूल्यको औचित्यमाथि नै प्रश्न उठेको छ । 

सरोकारवाला त प्रमुख खाद्यान्न बालीको समर्थन मूल्य तोक्ने परिपाटी देखाउन मात्रै भएको बताउँछन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले समर्थन मूल्य तोक्नुमात्र ठूलो कुरा नभएको बताए ।

देखाउन मात्रै समर्थन मूल्य तोक्नु गलत भएको उनको भनाइ छ । सरकारले समर्थन मूल्य तोक्छ तर त्यसको कार्यान्वयन पक्षमा खासै ध्यान दिएको देखिँदैन । ‘किसानलाई दिन नसकिने समर्थन मूल्य किन निर्धारण गर्ने ? ’ उनले प्रश्न गरे ।

सरकारले समर्थन मूल्य तोकेपछि सरकारी कम्पनीले सोहीअनुरूप खरीद लक्ष्य तोक्छ । तर, त्यसको आधा परिमाण पनि किन्न नसक्नु लज्जास्पद भएको अधिकारी बताउँछन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरूमा चालू आर्थिक वर्षमा किसानसँग ३० हजार मेट्रिक टन धान किन्ने लक्ष्य राखेको थियो । उक्त परिमाणमा किन्न नसकिने भन्दै पछि खरीद लक्ष्य संशोधन गर्‍यो । यसपटक उसले २० हजार मेट्रिक टनको लक्ष्य राख्यो । पछि त्यो परिमाणमा पनि किनेको छैन । ताजा तथ्यांकअनुसार खाद्यले करीब ९ हजार मेट्रिक टनमात्रै धान किनेको छ । 

कम्पनीले बिर्तामोड, विराटनगर, राजापुर, धनगढीलगायत नौओटा कार्यालयबाट ९ हजार मेट्रिक टन धान किनेको हो । बिर्तामोडबाट १६ सय, विराटनगरबाट १४ सय ९६, लहानबाट १७ सय ८५, जनकपुरबाट १६ सय ६४, वीरगञ्जबाट १७ सय ८३, नेपालगञ्जबाट २ सय २५, राजापुरबाट ७ सय ८०, धनगढीबाट ५ र महेन्द्रनगरबाट १ सय १६ मेट्रिक टन धान किनेको कम्पनीले जानकारी दिएको छ ।

खाद्यले लक्ष्यअनुसार धान नकिन्नु नयाँ विषय भने होइन । गतवर्ष पनि उसले ६० हजार मेट्रिक टन धान किन्ने लक्ष्य राखेकोमा २२ हजार टनमात्रै किनेको थियो । कम्पनीले गहुँ किन्ने लक्ष्य पनि भेट्न सकेको थिएन ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगाल सरकारको यस्तो कार्यले किसान अझ बढी निरुत्साहित हुने बताउँछन् । उनका अनुसार सरकारले सानो परिमाणमा खाद्यवस्तु किन्दा किसानले व्यापारीकहाँ बेच्नुपर्ने अवस्था आउँछ । व्यापारीलाई बेच्दा किसानले उचित मूल्य पाउँदैनन् । 

कम्पनीका अधिकारी भने गुणस्तरीय धान नपाएर लक्ष्यअनुसार नकिनेको बताउँछन् । ‘चालू आर्थिक वर्षमा हामीले लक्ष्यअनुरूप धान किन्न नसक्नुको कारण गुणस्तर हो । बेमौसमी वर्षाले देशभरका किसानको धानबाली नष्ट भयो ।

अधिकांश जिल्लामा गुणस्तरीय धान उत्पादन भएन,’ कम्पनीका सूचना अधिकारी शर्मिलाले न्यौपाने भन्छिन्, ‘अर्को कुरा हामीले किनेको धान तुरुन्तै बेच्नेभन्दा पनि मौज्दात गरेर खाद्यान्न अभाव भएका जिल्लामा बिस्तारै पठाउँछौं । राम्रो गुणस्तरको किन्न सकिएन भने चाँडै बिग्रने सम्भावना हुन्छ । त्यसैले हामीले किन्ने लक्ष्य भेट्न सकेनौं ।’ 

सरकारले तोकेको गुणस्तरको तहभन्दा तल गएर कम्पनीले धान किन्न नसक्ने भएकाले पनि लक्ष्य भेट्न मुश्किल परेको उनको भनाइ छ । ‘सरकारले तोकेभन्दा न्यून गुणस्तरको धान बजारमा आएकाले किन्ने लक्ष्य भेट्न सकिएन,’ उनले भनिन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।