इन्डोनेशियाले कच्चा पाम आयललाई निर्यात प्रतिबन्धको सूचीबाट हटायो, नेपाललाई राहत  

Share News

वैशाख १३, काठमाडौं  । इन्डोनेशियाले कच्चा पाम आयललाई निर्यात प्रतिबन्धको सूचिबाट हटाएको छ । स्थानीय माग धान्न नसकेको भन्दै गत हप्ताको अन्त्यमा  अप्रत्याशित रुपमा कच्चा पाम आयललाई निर्यात प्रतिबन्ध लगाएको वस्तुहरुको सूचिमा राखिएको थियो ।

तर सोमवार भने यसलाई निर्यात प्रतिबन्धको सूची बाहिर राखिएको छ । त्यहाँको कृषि मन्त्रालयले स्थानीय सरकारलाई पठाएको आधिकारिक पत्रमा यस्तो उल्लेख गरिएको भन्दै रोयटर्सले समाचार छापेको हो । यद्यपि, प्रशोधित, ब्लिच गरिएको र डियोडोराइज्ड (आरबीडी) पाम ओलिनमा भने प्रतिबन्ध लागू हुने पत्रमा उल्लेख छ ।

पत्रमा उल्लेखित कुराको मन्त्रालयका अधिकारीले पनि पुष्टि गरेको बताइएको  छ । सोमवार आरबीडी पाम आयल र पाम स्टेरिन जस्ता प्रडक्ट प्रतिबन्धमा पर्छन् कि पर्दैनन् भन्ने चाँहि स्पष्ट भइसकेको थिएन । इन्डोनेशियाली राष्ट्रपति जोको विडोडोले शुक्रबार अबेर उक्त प्रतिबन्धको घोषणा गरेका थिए । 

विडोडोले शुक्रवार खाने तेल र यो बनाउन प्रयोग हुने कच्चा पदार्थको निर्यातमा बन्देज लगाइने भने पनि विस्तृत विवरण दिएका थिएनन् । घरेलु स्तरमा तेलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न विश्वको सबैभन्दा ठूलो पाम आयल उत्पादक इन्डोनेशियाको प्रतिबन्ध लगाउने अप्रत्याशित निर्णय गरेपछि अघिल्लो दिनको कारोबारमा पाम आयल फयूचर्समा सेल अफ देखिएको थियो । 

तर मंगलवार बुर्सा मलेशिया डेरिभेटिभ्स एक्सचेञ्ज जुलाई डेलिभरीको बेञ्चमार्क पाम आयलको करार २ दशमलव ७९ प्रतिशत अर्थात् १७४ रिंगिटले बढेर मध्यान्नमा ६ हजार ४०३ मा पुगेको छ । सोमबार बिहानी कारोबारमा करीब ७ प्रतिशतले बढेको पाम आयलको भाउ बजार बन्द हुँदा २ प्रतिशत भन्दा तल आएर बन्द भएको थियो । 

निर्यात प्रतिबन्धबाट कच्चा पाम आयललाई छूट दिँदा विश्व बजारमा सकारात्मक प्रभाव पर्ने भएपनि इन्डोनेशियाको अधिकांश पाम निर्यात प्रशोधित तेलको रुपमा हुने भएकोले पाम आयल प्रतिबन्धको प्रभावमुक्त भने हुनेछैन । प्रतिकुल मौसम र रुसले युक्रेनमाथि हमला गरेपछि विश्व बजारमा तेलहनको आपूर्ति यस अघि नै सीमित भएको छ । यस्तोमा सबै खालको खाने तेलको भाउ बढिरहेको छ । 

नेपालमा पाम आयल मुख्यतः खाने पकाउने तेलको रुपमा प्रयोग गरिन्छ । नेपालले चालु आवको चैतसम्मको अवधिमा ३३ अर्ब रुपैयाँ भन्दा धेरैको पाम आयल आयात गरेको छ । हरेक महीना ३ देखि ५ अर्ब रुपैयाँको तेल आयात गरिदैं आएको छ ।

नेपालले आयात गर्ने ९० प्रतिशत पाम आयल इन्डोनेशियाबाट आउने गरेको छ । नेपाली व्यापारीहरुले पाम आयल प्रशोधन गरेर भाततर्फ निर्यात गर्दै आएका छन् । पछिल्लो खबरले नेपाली उपभोक्ता र व्यापारीहरुलाई ठूलो राहत मिलेको छ । 

पाम आयल खाद्य पदार्थ, डिटर्जेन्ट, कस्मेटिकसदेखि जैविक इन्धनसम्म धेरै कुरामा प्रयोग हुन्छ । विश्वको कूल खाने तेल बजारमा पाम आयलको अनुपात झन्डै ६० प्रतिशत छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।